काठमाडौँ- साहित्यकार पुष्पराज पाण्डेयद्वारा लिखित कथासंग्रह ‘किनार’को शनिबार काठमाडौँमा लोकार्पण गरिएको छ। शिखा बुक्सद्वारा प्रकाशित कृतिको एक विशेष समारोहबीच लोकार्पण गरिएको हो।
पुस्तकका सम्पादक, कवि एवं साहित्यकार शुभाषचन्द्र भण्डारीले नेपाली साहित्यले ओजिलो कथा कृति पाएको बताए। उनले कृतिमा आञ्चलिकताको बेजोड समिश्रण रहेको प्रतिक्रिया दिए।
‘चार महिना कथाका केस्रा केलाउँदा यो कृति नेपाली कथाका क्षेत्रमा ठूलो उपलब्धि हो। कथामा उत्तर आधुनिकतावादी शिल्पमा कथा बाँधिएका छन् र प्रयोगवादी शिल्प छ। सुदूरपश्चिकमा नौ वटै जिल्लामा बोलिने भाषाको प्रयोग बेजोड छ। कथाको भाषिकता काब्यात्मक छ। कथामा लोक संस्कृतिका आयामको झल्को छ,’ उनले भने।
समीक्षक अनुपमा रेग्मीले केही कथामा कथाभित्र पनि कथानक रहेकाले यो पाटो छुट्टै आकर्षणको विषय रहेको बताइन्। उनले कथामा कथाकारको परिकल्पनासिल शक्ति पनि बलियो रुपमा आएको बताइन्।
‘उहाँको लेखनीमा शब्दचक्रको जाँदु छ। यसले लेखकको क्षमतालाई प्रस्फुटन गरिदिएको छ। भेगका भोगाइ सुन्दर छन्। कथामा गाम्भिर्यता छ,’ उनले भनिन्।
पत्रकार एवं समीक्षक राजेन्द्र बानियाँले पाण्डेयका कथा बढ्दा सुखद् अनुभूति भएको बताए। ‘उहाँका कथामा फरक-फरक स्वाद छ। किनारको आफ्नै दर्शन छ र छायाँमा बाँचेका पत्रहरू उहाँको कथामा अटेका छन्। जीवनका कच्चा टुक्रा कथामा मिठोगरि उनिएका छन् र कथालाई पढ्दा आनन्द अनुभूति हुन्छ,’ उनले भने।
उनले पाण्डेयका कथाहरू भाव केन्द्रित भएको प्रतिक्रिया दिएका छन्। कथा खुला र सोच्न बाध्य बनाउने खालका रहेको उनले बताए। उनले पाण्डेयका कथा गहकिला र अग्ला रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. डा. लक्ष्मण गौतमले पाण्डेयका कथामा भूगोल, भाषा र परिवेश निर्धक्क भएर बाचेको बताए। प्रत्येक शब्दका पछाडि शक्ति लुकेकाले पाठकले त्यो शक्तिलाई बुझ्न सक्दा पुस्तकबाट बेग्लै आनन्द लिन सकिने उनको भनाइ थियो।
‘उहाँको यो पहिलो कृति हो। केही कथा पाक्न बाँकि छन्। तर, स्वाद भने मिठो छ। कृतिमा सुदूरपश्चिमको मिथक बाचेको छ। पात्रसँग हराउन र संवाद गर्न सके मात्र कथा जिवन्द हुन्छ, जुन विषय को कृतिमा राम्रैसँग प्रयोग भएको छ,’ उनले भने।
लेखक पाण्डेयले आफ्नो पहिलो कृति भएकाले थुप्रै कमजोर हुन सक्ने भएकाले आगामी दिनमा पाठक र समीक्षकको सुझाव अनुसार नै अगाडि बढ्ने बताएका छन्। उनले आफूले लामो समय यो कृतिमा खर्चिएको बताए।
‘सुदूरमा व्यस्त जीवन बिताइरहेका कारण कृति प्रकाशन सम्भव थिएन। दृढ इच्छाशक्ति बोकेर यो कृति पाठक माझ ल्याएको छु। अगामी दिनमा तपाईंहरूको सुझावअनुसार नै अगाडि बढ्नेछु,’ उनले भने। उनले आगामी वर्ष उपन्यास प्रकाशन गर्ने र त्यसको लेखन कार्य अगाडि बढेको बताएका छन्।
शिखा बुकका प्रवन्ध निर्देशक पुष्पराज पौडेलले अब्बल कोटीका पुस्तक प्रकाशनका लागि सधैँ आफू तयार रहेको बताएका थिए। उनले किनार पनि एक अब्बल कृतिका रुपमा आएको बताए। पुस्तकको मूल्य ५९५ रुपैयाँ रहेको छ। कार्यक्रमको सञ्चालन पत्रकार यज्ञराज जोशीले गरेका थिए।




