चीनमा चिया कूटनीति : एसिया-अफ्रिका मञ्चमा नेपालको सक्रिय उपस्थिति

अजय अलौकिक १३ वैशाख २०८३ १३:०९ | Sunday, April 26, 2026
28
SHARES
चीनमा चिया कूटनीति : एसिया-अफ्रिका मञ्चमा नेपालको सक्रिय उपस्थिति

बेइजिङ– यो वसन्त ऋतुकालीन चिया टिप्ने समय हो। चिया मजदुरलाई फस्ट फ्लस (वासन्ती पात) चिया टिप्न भ्याइनभ्याइ छ। चीनमा भने चियासम्बन्धी मेला, महोत्सवहरू जोडतोडले आयोजना भइरहेका छन्। केही समयअघि बेइजिङमा २०औँ बेइजिङ अन्तर्राष्ट्रिय चिया मेला आयोजना भएको थियो। अहिले चीनको हुपै प्रान्तको लिछ्वान सहरमा रातो चिया विशेष महोत्सव भइरहेको छ। एक कप रातो चियाले विश्वका चियाप्रेमीहरूलाई जोड्ने नारासहित एसिया र अफ्रिकाका चिया उद्योगबीच संवाद र सहकार्य प्रवर्द्धन गर्ने हेतुले यही २४ तारिखबाट पहिलो एसिया-अफ्रिका रातो चिया आदानप्रदान कार्यक्रम २०२६ सुरु भएको हो।

अप्रिल २६ तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको पहिलो एसिया अफ्रिका कालो चिया आदानप्रदान महोत्सवमा चीन, दक्षिण कोरिया, श्रीलंका, केन्या र नेपालको सहभागिता रहेको छ।

महोत्सवको पहिलो दिन दुई सयजनाभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागितामा अतिथि स्वागतका सन्दर्भमा नेपालको ब्ल्याक टी टेस्टिङ गरिएको थियो। नेपाली दूतावासको पहलमा चीनको हुपै प्रान्तको लिछ्वानमा २४ तारिख साँझ नेपालको एक सुइरोमा आधारित अर्थोडक्स ब्ल्याक टी टेस्टिङ कार्यक्रम सम्पन्न भएको हो। महोत्सवमा ब्ल्याक टीअन्तर्गत पर्ने कुनै एक चियाको प्रतिनिधित्व गराउनुपर्नेमा नेपालका तर्फबाट सन् २०२४ मा इलाममा उत्पादित एक सुइरो अर्थात् पातबिनाको मुनाबाट बनाइएको सुनौलो रङको कालो चिया उपलब्ध गराइएको थियो।

महोत्सव उद्घाटन सत्रमा नेपाली दूतावासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले नेपालको चियाको विस्तृत प्रस्तुतीकरण दिएकी थिइन्। उनले नेपालको चिया  एक हजार पाँच सय फिटदेखि सात हजार फिट उचाइसम्म उत्पादन हुने, अर्गानिक तथा अर्थोडक्स चिया मापदण्डको पालना गरी उत्पादन गरिने र उच्च एन्टिअक्सिडेन्ट क्षमता रहेकोले विश्व बजारले नेपालको चियाप्रति चासो बढाउँदै गएको बताइन्।

अर्यालले चीनको प्राचीन अवधारणाबमोजिम नेपालको चिया बगैँचा इलाम हुँदै विश्व शान्ति बगैँचा लुम्बिनी भ्रमण गर्ने ‘टी हर्स रुट’ विकास र पुनर्जागरण गर्न सकेमा चिया र विश्वशान्तिको सम्बन्ध संसारले अवलोकन गर्न सक्ने सम्भावना पनि औँल्याइन्।

दुई देशका रातो चियाका समानताबारे पनि अर्यालले स्पष्ट पारिन्। ‘लिछ्वानको रातो चिया र नेपालको रातो चिया दुवै उच्च उचाइ भएका पहाडी क्षेत्रमा उत्पादन हुन्छन् र यसको स्वाद विशेष छ। लिछ्वान चिया र नेपाल चियाको खेती वातावरण समान छ। चियाका जातिहरू गहिरो सम्बन्ध भएका छन्। दुवैमा अनौठो सुगन्ध र गाढा स्वाद छ। यी सबै उच्च गुणस्तरका उत्तम चिया हुन्’, उनले भनिन्।

चिया चखाउने प्रस्तुतीकरणमा नेपालको चिया रुचाउने अन्तर्राष्ट्रिय चिया पारखीहरूमा स्वाद र स्वास्थ्यप्रतिको सजगतासँगै हिमाल र जैविक विविधता संरक्षणप्रतिको संवेदनशीलता, चिया किसान र महिलाप्रतिको उच्च सम्मानभाव रहेको भन्दै कृतज्ञता व्यक्त गरिएको थियो। उक्त सत्रको नेतृत्व चीनको अन्तर्राष्ट्रिय कृषि सहायता प्रवर्द्धनका लागि चिया समिति एसोसिएसनका मानार्थ प्रेसिडेन्ट तथा चिनियाँ कृषि विज्ञान एकेडेमीका पूर्व अध्यक्ष चाई हुछीले गरेका थिए। चीनसहित पाँच देशका चिया चखाउने कार्यक्रममा नेपालको चिया उच्च गुणस्तरको रहेको सहभागीहरूले बताएको नेपाली चिया प्रवर्द्धक रोशन पोखरेलले बताए।

चियालाई पुल बनाई एसिया र अफ्रिकालाई जोड्दै लिछ्वानको चियाको सुवासलाई विश्वसम्म पुर्‍याउने उद्देश्य राखिएको छ। विश्वव्यापी रातो चिया उद्योग सञ्जालका साझेदारहरूबीच गहिरो सहकार्य तथा निष्पक्ष प्रतिस्पर्धा सँगसँगै जलवायु परिवर्तन र भौगोलिक द्वन्द्वले ल्याएको चुनौतीहरूको सामना गर्न र उद्योगलाई दिगो भविष्यतर्फ अघि बढाउने लक्ष्य लिएको छ।

महोत्सवमा रातो चियाको स्वाद परीक्षण, अधिकारिक उद्योग प्रतिवेदनको प्रकाशन, लिछ्वान रातो शृंखलाका नयाँ उत्पादनहरूको पहिलो प्रदर्शन, विश्वव्यापी रातो चियाको दिगो विकास पहल, घरेलु र विदेशी विशेषज्ञहरूबीच गोलमेच संवाद, जैविक चियाबारीको प्रत्यक्ष भ्रमण लगायतका विविध कार्यक्रमहरू आयोजना गरिनेछ।

महोत्सव आयोजक चीन कृषि अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन संघको चिया उद्योग विभाग, बेल्ट एन्ड रोड’ अन्तर्राष्ट्रिय चिया व्यापार उद्योग प्रविधि नवप्रवर्तन संस्थान र लिछ्वान जनसरकार हुन्।

प्रकाशित: १३ वैशाख २०८३ १३:०९ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast