दशरथ रङ्गशालामा सुकुम्वासीको ‘स्क्रिनिङ’

हिमाल प्रेस १२ वैशाख २०८३ १५:०४ | Saturday, April 25, 2026
14
SHARES
दशरथ रङ्गशालामा सुकुम्वासीको ‘स्क्रिनिङ’

काठमाडौँ– थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुम्वासीरभूमिहीनको ‘स्क्रिनिङ’ जारी छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले थापाथलीबाट ल्याइएका सुकुम्वासी परिवारको लगत संकलन गरिरहेका छन्।

अपराह्न १ः३० बजेसम्म २३ परिवारको लगत संकलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन्। सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको उनले बताइन्।

‘वास्तविक सुकुमवासीको परिवार संख्या, घरमुलीको नामलगायत विवरण संकलन गरिरहेका छौँ। त्यसपछि तत्कालका लागि तोकिएको ‘सेल्टर’मा पठाउँछौँ,’ उनले भनिन्, ‘सेल्टरमा उहाँहरूलाई खाने, बस्ने सम्पूर्ण व्यवस्था सरकारले गरेको छ।’

अस्थायी बसोबासस्थलमा उनीहरूको व्यवस्थापन भएपछि दोस्रो चरणमा राज्यले जमिन प्रदान गर्ने कार्य थालनी गर्ने उहाँले जानकारी दिइन्।

थापाथलीमा अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइएपछि ती परिवारलाई सरसामानसहित रङ्गशाला ल्याइएको हो। सुकुम्वासीहरू आफ्नो जाने थातथलो कहीँ नभएको भन्दै सरकारी सहयोगको खोजीमा रङ्गशाला आउने क्रम जारी छ।

‘वास्तविक सुकुम्वासीहरू यहाँ आउनुभएको छ, अन्य आफ्नो व्यवस्था गरी गइसक्नुभएको छ,’ प्रमुख केसीले भनिन्, ‘केही परिवार यहाँ आएर पनि सरकारले तोकेको ठाउँमा नबस्ने भनी निस्कनुभएको छ।’

उनका अनुसार रङ्शालाभित्रै सुकुम्वासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली खटिएको छ।

सुकुम्वासी परिवारलाई सुरक्षित बसोबासस्थलसम्म लैजाने क्रममा आइपर्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोली खटिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिए।

यसैबीच, थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउने काम सम्पन्न भएको छ। त्यहाँ अवैध रूपमा निर्माण गरिएको संरचना डोजर लगाएर हटाइएको छ। केही सुकुम्वासी परिवार आफ्नो सरसामानलाई सुरक्षित रूपमा अन्यत्र लैजान खटिइरहेका छन्।

सुरक्षाकर्मीलगायतको टोलीले अहिले सिनामङ्गल–गैरीगाउँ क्षेत्रमा रहेका अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ। सो क्षेत्रमा रहेका सुकुमवासी÷भूमिहीन परिवारले पनि सरकारको निर्देशन पालना गर्दै आफ्ना घरटहरा भत्काएर सरसामन सुरक्षित स्थानमा लगिरहेका छन्।

प्रकाशित: १२ वैशाख २०८३ १५:०४ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast