गगन-विश्वको लाचारीमा कांग्रेस : संसदीय दल नेता चयन प्रक्रिया स्थगित

हिमाल प्रेस ११ वैशाख २०८३ १७:३४ | Friday, April 24, 2026
24
SHARES
गगन-विश्वको लाचारीमा कांग्रेस : संसदीय दल नेता चयन प्रक्रिया स्थगित

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष बुझाइएको ३५ दिन बितिसक्दा पनि नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न असमर्थ देखिएको छ। अन्य सबै दलले नेतृत्व टुंग्याएर अघि बढिसक्दा कांग्रेस भने आन्तरिक किचलोमै अल्झिएको हो। कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्दा प्रतिनिधिसभाले प्रमुख प्रतिपक्षी दलको नेता पाउन सकेको छैन।

निर्वाचन आयोगले चैत ५ गते राष्ट्रपतिलाई परिणाम बुझाएयता पटकपटक छलफल भए पनि सहमति जुट्न नसक्दा कांग्रेसभित्रको गुटगत द्वन्द्व सतहमै देखिएको छ। चुनावअघि आश्वासनको वर्षा गरेका सभापति गगनकुमार थापा अहिले आफ्नै ३८ सदस्यीय संसदीय दलको नेता चयन गर्न नसक्ने अवस्थामा पुगेका छन्। यसबाट उनको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएको छ। चुनावमा निराशाजनक परिणाम व्यहोरेको कांग्रेस अझै विभाजित मानसिकताबाट बाहिरिन सकेको छैन, जसका कारण दलभित्र नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ।

सभापति थापामाथि कांग्रेसलाई लयमा ल्याउन अनेक जिम्मेवारी रहे पनि उनी संसदीय दलको नेता चयनमै अलमलिएको कांग्रेसका नेताहरू बताउँछन्। उनीहरूका अनुसार पार्टी संगठनलाई १५ औँ महाधिवेशनमा केन्द्रित गर्नुपर्ने, भ्रातृ संगठनहरूलाई गतिशील बनाउनुपर्ने, संसद्मा जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने, विशेष महाधिवेशनका कारण बिच्किन लागेका नेताहरूलाई संगठनमा भित्र्याएर चलायमान बनाउनुपर्ने जस्ता जिम्मेवारी सभापति थापाको काँधमा छ। संसदीय दलकाे नेता चयन नै गर्न नसकेपछि गगनकाे नेतृत्वमाथि प्रश्न उठ्न थालेको कांग्रेसका नेताहरू बताउँछन्।

नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्ने प्रक्रिया स्थगित भएको छ। दलको नेता चयन गर्ने विषयमा सहमति हुन नसकेपछि प्रक्रिया स्थगित भएको हो। निर्वाचन समितिले दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्दै शुक्रबार दिउँसो ३ बजे मनोनयन दर्ताको समय तोकेको थियो। मनोनयन दर्ता सुरु हुन केही बेरअघि निर्वाचन समितिले दलको नेता चयन गर्ने प्रक्रिया स्थगित गरेको हो।

संसदीय दल निर्वाचन समिति सदस्य मुना भुसालले सहमतिमा दलको नेता चयन गर्न भन्दै तत्कालका लागि प्रक्रिया स्थगित भएको जानकारी दिइन्। ‘सहमतिमै दलको नेता चयन गर्ने भन्ने हो,’ उनले भनिन्, ‘आकांक्षी सबैलाई एकै ठाउँमा राखेर सहमति जुटाउने प्रयास भइरहेको छ, सहमति जुटाउनकै लागि प्रक्रिया रोकिएको हो।’

पार्टी केन्द्रीय सदस्यसमेत रहेकी भुसालले शनिबारसम्म दलको नेता चयन हुने बताइन्। उनले भनिन्, ‘सहमति हुन नसके भोलि निर्वाचन प्रक्रियाबाटै भए पनि दलको नेता चयन हुन्छ।’ सहमतिमै दलको नेता चयन गर्न भन्दै सभापति, उपसभापति, महामन्त्रीलगायतका पदाधिकारी सम्मलित कार्यदलसमेत गठन भएको छ।

पार्टी सभापति गगन थापा, उपभासपतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलका साथै संसदीय दल निर्वाचन समितिका पदाधिकारीसमेत रहने गरी कार्यदल गठन गरिएको हो।

कार्यदलमा संसदीय दल निर्वाचन समितिका संयोजक प्रकाश स्नेही रसाइली तथा सदस्यहरू राज कटुवाल र मुना भुसाल छन्। निर्वाचन समिति सदस्य भुसालले कार्यदलले दलका नेताका लागि आकांक्षी सबै जनालाई सँगै राखेर छलफल गरी सहमतिको प्रयास गर्ने बताइन्।

संसदीय दलको नेता चयन गर्न सहमति जुट्न नसकेपछि सभापति थापाले हस्तक्षेप गरेर निर्वाचन प्रक्रिया स्थगित गर्न लगाएको बताइएको छ। एकभन्दा बढी आकांक्षी देखिएपछि सहमतिका लागि अन्तिम प्रयास गर्ने भन्दै उनले निर्वाचन प्रक्रिया रोक्न लगाएको एक सांसदले बताए।

‘संसदीय दलको नेताका लागि सहमति नहुने देखिएपछि सभापतिज्यूले निर्वाचन प्रक्रिया रोक्न लगाउनु भएको छ,’ ती सांसदले भने,‘दलको नेता चयन गर्ने विषयमा सभापति र उपसभापतिबीच नै कुरा मिल्न सकिरहेको छैन।’

कांग्रेस संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्यलगायतका नेताहरू आकांक्षी देखिएका छन्। सभापति थापा रसुवाका सांसद आचार्यलाई दलको नेता बनाउन चाहेका छन् भने उपसभापति शर्मा भने निर्वतमान सभापति शेरबहादुर देउवानिकट आङ्देम्बेको पक्षमा उभिएका छन्। अर्कोतर्फ पार्टीका सबै सांसदमध्ये आफू अनुभवी रहेको भन्दै केसीले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन्।

केसी, आङ्देम्बे र आचार्यलागयतका नेताहरू अडानमा कायमै रहेपछि कांग्रेसलाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ। प्रतिनिधिसभाको बजेट अधिवेशन नजिकिएको बेला दोस्रो ठूलो दल कांग्रेसले अझै दलको नेता चयन गर्न सकेको छैन। दलको नेता चयन गर्ने सन्दभृमा निर्वाचन समितिले गएको शुक्रबार पार्टीका सांसदहरूसँग छलफलसमेत गरेको थियो। यसका साथै संसदीय दलको विधान परिमार्जन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो। विधान संशोधनको मस्यौदामाथि कांग्रेस कार्यसम्पादन समिति बैठकमा शुक्रबार कुराकानी भएको छ।

प्रतिनिधिसभामा १८ जना प्रत्यक्ष र समानुपातिक २० जना गरी कांग्रेसका ३८ सांसद छन्। जसमध्ये सभापति थापा समूहका १६, देउवा समूहका १५ र शेखर कोइराला समूहका ७ सांसद छन्। सभापति थापा प्रतिनिधिसभा सदस्य आचार्य र उपसभापति शर्मा निवर्तमान सभापति देउवानिकट आङ्देम्बेको पक्षमा उभिँदा शेखर कोइराला समूह भने अझै नखुलेको नेताहरूले बताएका छन्। सहमति हुन नसकेर निर्वाचन प्रक्रियाबाटै दलको नेता चयन गर्ने अवस्था आउँदा शेखर समूहको सात मत निर्णायक हुने देखिएको छ।

२०६४ पछि कांग्रेसको इतिहासमा सर्वसम्मतिबाट दलको नेता चयन भएका छैनन्। २०७९ सालको निर्वाचनपछि तत्कालीन सभापति देउवा र तत्कालीम महामन्त्री गगन थापाबीच चुनावी प्रतिस्पर्धा भएको थियो। संसदी दलको नेता चयन गर्न भएको निर्वाचनमा देउवाले तत्कालीन महामन्त्री थापालाई पराजित गरेका थिए।

प्रकाशित: ११ वैशाख २०८३ १७:३४ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast