बैतडी- बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। मनसुनमा प्राकृतिक विपदबाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो।
दशरथचन्द नगरपालिका–४ छेलामा आज (बिहीबार) सो बेसको औपचारिक उद्घाटन गरिएको छ। विपद्जन्य घटनामा परेकाहरुको राहत तथा उद्धारका लागि अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले जानकारी दिए।
अस्थायी मनसुन प्रतिकार्य बेसमा सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा १५ जनाको टोली रहने उनले बताए। बाढीपहिरो, आगलागीलगायत विपद्जन्य घटनामा परेका व्यक्तिहरूको उद्धारका लागि तालिम प्राप्त जनशक्तिसहित अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए।
मनसुन सक्रिय हुने समयमा हुनसक्ने विपद्जन्य घटनामा परेकाहरुको उद्धारका लागि जनशक्ति र आवश्यक सामग्रीसहित चौबीसै घण्टा तयारी अवस्था रहने उनले बताए। आवश्यक परेको खण्डमा तुरुन्त परिचालन हुने उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए।




