सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नहुँदा बिरामी प्रभावित, सेवा नखुम्च्याउन प्रदीप पौडेलको आग्रह

हिमाल प्रेस १० वैशाख २०८३ ८:१५ | Thursday, April 23, 2026
10
SHARES
सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नहुँदा बिरामी प्रभावित, सेवा नखुम्च्याउन प्रदीप पौडेलको आग्रह फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। ओपीडी सेवा प्रभावित हुँदा सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको र बिरामीलाई आर्थिक बोझ थपिदिएको उनले बताए।

विगतमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आफू रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उनले स्मरण गराए।

सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपीडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र सेवाको समय बढाउने जस्ता सुधारका कामहरू सुरुवात गरेको उनले बताए।

स्वास्थ्य सेवा विशिष्ट सेवा भएकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि थप प्रोत्साहन भत्ता दिन अध्ययन प्रतिवेदन तयार गरी त्यसको कार्यान्वयन सुरु गरेको पनि उनले स्मरण गरे।

अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ जनशक्ति थप गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको उनले बताए।

सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत आम नागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेर मात्र समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिने उनले बताए ।

हिजोका दिनमा सुरु भएका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन उनले सरकारसँग अनुरोध गरेका छन् ।

प्रकाशित: १० वैशाख २०८३ ८:१५ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast