१४ वर्षपछि ‘पलेटी’मा पवन गोले

हिमाल प्रेस ९ वैशाख २०८३ ११:३५ | Wednesday, April 22, 2026
4
SHARES
१४ वर्षपछि ‘पलेटी’मा पवन गोले

काठमाडौँ- १४ वर्षपछि ‘पलेँटी’मा दार्जिलिङका प्रसिद्ध गायक पवन गोले प्रस्तुत हुने भएका छन्। अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको पलेँटीमा यसपालि दार्जिलिङका प्रसिद्ध गायक गोले प्रस्तुत हुने भएका छन्।

पवनले यसपालिको पलेँटीमा आफ्ना पुराना गीतका साथै नयाँ गीत पनि प्रस्तुत गर्नेछन्। नयाँ गीतमा संगीतकार रमेश गुरुङद्वारा धुन भरिएका गीत समेटिएका छन् । जसका निम्ति हार्मोनियम समातेर रमेश गुरुङ र माइक समातेर पवन गोले अभ्यासमा जुटिरहेका देखिन्छन् । पलेँटीका कलाकारहरूले उनीहरूलाई साथ दिइरहेका छन् ।

पलेँटी कार्यक्रम नेपाली आधुनिक संगीतलाई प्राथमिकता दिँदै शुरू भएको सांगीतिक कार्यक्रम हो । यो कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको हो । पवन गोले नेपाली सांगीतिक जगतका नेपालीभाषी श्रोता बीच परिचित नाम हो । खासगरी ‘हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ’ पवन गोलेको स्वरमा सर्वाधिक लोकप्रिय गीत हो । उनी दार्जिलिङको साङ्गीतिक जगतमा लामो समयदेखि क्रियाशील कलाकार हुन् ।

दार्जिलिङमा उहिले ‘सङ्ग एण्ड ड्रामा युनिट’ नामको संस्था हुने गर्थ्यो । उतिबेला पश्चिम बंगाल सरकारको मातहतको त्यो संस्था पछि गएर जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन) अन्तर्गत समायोजन भयो । जसको नाम ‘इन्फरमेसन एण्ड कल्चर डिपार्टमेन्ट’ रह्यो । पवन गोलेले त्यही संस्थामा कलाकारको रूपमा सेवारत रहेर सन् २०२१ मा अवकास प्राप्त गरे । तर संगीतको मोहबाट उनी अहिले पनि अवकास लिन रुचाउदैनन् । त्यसैले गायनमा क्रियाशील रहिरहेका छन् ।

संगीतकार सुवर्ण लिम्बूको धुनमा सजिएको गीत ‘हावासँग बगूँ भन्छु’ गीतबाट नेपाली संगीत जगतमा चिनिएका पवनले अनगिन्ति गीत गाएका छन् तर उनको गायन, आम नेपाली श्रोतामाझ मनग्य हुनेगरि प्रस्तुत भएका छैनन् । त्यही यथार्थलाई अनुभूत गरेर पलेँटीले यसपालि उनलाई दोहोर्‍याएर काठमाडौं निम्त्याएको हो । पवनले यसपालि सुवर्ण लिम्बूको नयाँ धुनका साथै पारस गजमेर, बसन्त छेत्री, प्रदीप छेत्री र रमेश गुरुङले संगीत भरेका गीतहरू प्रस्तुत गर्नेछन् । पवनको पलेँटीमा समेटिएका गीतकारमा शिवशंकर थापा, नरदेन रुम्बा, जितेन्द्र बर्देवा, जस योञ्जन प्यासी, पुरन गिरि, सुरेन थिङ, संजय बान्तवा, संजय बिष्ट, कालूसिंह रनपहेली, प्रमोद स्नेही र अरुण तिवारी रहेका छन् ।

पवन गोले सन् २०१२ मा पनि पलेँटी कसिसकेका गायक हुन् । उतिबेला उनले विभिन्न संगीतकारका धुनहरूमा सजिएका गीत सुनाएका थिए । यसपालिको पलेँटीमा आधा पुराना र आधा नयाँ संगीतहरू समेटेका छन् । नयाँ धुनहरूमा संगीतकार रमेश गुरुङको साथ रहनेछ ।

पहिलो पल्ट सन् २०१२ मा पलेँटी कसेको सम्झना गर्दै पवन गोले भन्छन्, ‘यसभन्दा पहिले पलेँटीमा आउँदाको सुन्दर अनुभूति मनबाट नमेटिँदै फेरि पनि यो मञ्चमा आएको छु । झन् यसपाली साथमा संगीतकार रमेश गुरुङ भाइ छन् । आशा छ मेरो सृजनाकर्ममा नयाँ पुराना दर्शक, श्रोताको मनग्य माया पाउनेछु ।’

पलेँटी कार्यक्रम यही अप्रिल महिनाको अन्तिम शुक्रबारस २४ तारिखस र २५ तारिखस शनिबारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आरुसालामा हुने यस कार्यक्रमको टिकेटwww.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ। ‘आर’सालामा उपस्थित हुन असमर्थ संगीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था पनि गरिएको छ । त्यसका निम्ति पलेँटीको वेबसाइटमा रहेको Purchase Live Access मा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रकाशित: ९ वैशाख २०८३ ११:३५ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast