वीरगन्ज- सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन अनुरोध गरेको छ ।
सडक डिभिजनका डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले सोमबार सार्वजनिक सूचना जारी गरेर तीन दिनभित्र पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा सडकबिच भागबाट दायाँ–बायाँ २५/२५ मिटर सीमाभित्र अनधिकृत तवरले निर्माण गरिएका घर टहरा हटाउनका लागि अनुरोध गरेका छन्।
उनले अटेर गरी आदेश कार्यान्वयन नगरेमा सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानुनबमोजिम कारबाही हुने बताए । कार्यालयले सडक विभागको स्वीकृति प्राप्त नगरी सार्वजनिक सडक र सडक सीमाभित्र अनधिकृत तवरले निर्माण गरिएका घररटहरा हटाउनका लागि यसअघि विसं २०७३ पुस १८ गते र २०८० असार ९ गतेलगायतका विभिन्न मितिमा डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो ।



