त्रिभुवन विमानस्थलमा देखिएको भीड। फाइल तस्बिर
काठमाडौँ- नेपालले पश्चिम एसियली देशहरूमा काम गर्न जाने नागरिकलाई पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ। उक्त क्षेत्रमा बढ्दो द्वन्द्वका कारण ६ हप्ताअघि यो प्रक्रिया स्थगित गरिएको थियो।
वैदेशिक रोजगारीमा गएका कुल नेपालीमध्ये करिब ७५ प्रतिशत पश्चिम एसियली देशमा कार्यरत छन्। अधिकांश नेपाली निर्माणस्थलमा मजदुरका रूपमा काम गर्छन्। यी कामदारले पठाउने रेमिट्यान्सले नेपालको ६१ खर्ब सात अर्ब २२ करोड आठ लाख बराबरको अर्थतन्त्रको एक चौथाइभन्दा बढी हिस्सा ओगटेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (मा.मन्त्रीस्तर) को सोमबारको निर्णयानुसार साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) खुला गरिएको
वैदेशिक रोजगार विभागले जनाएको छ।
विदेशमा काम गर्न जानुअघि नेपाली नागरिकले सरकारबाट श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ। तर अमेरिक–इजरायल र इरानबीचको युद्ध सुरु भएको भोलिपल्ट अर्थात् मार्च १ मा नेपालले खाडी मुलुकका लागि श्रम स्वीकृति दिन रोक लगाएको थियो।
करिब तीन करोड जनसंख्या रहेको नेपालमा युवाहरूको बेरोजगारी दर २०.६ प्रतिशत छ, जुन दक्षिण तथा दक्षिण–पूर्वी एसियाका देशहरूमा सबैभन्दा उच्चमध्ये एक हो।
उद्योगसम्बद्ध अधिकारीहरूका अनुसार कम्तीमा ३० लाख नेपाली विदेशमा कार्यरत छन्। श्रमिक संघहरूको अनुमानअनुसार देशभित्र रोजगारीका अवसर सीमित भएकाले दैनिक करिब एक हजार पाँच सय युवा वैदेशिक रोजगारीका लागि नेपाल छोड्ने गरेका छन्।



