काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेताहरुले पार्टी विवादका विषयमा सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका छन्।
शनिबार काठमाडौँको गोल्फुटारस्थित निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको कांग्रेस नेताहरुको बैठकले अदालतको आदेशसँगै पार्टीको आधिकारिताको विवाद टुङ्गिएको भन्दै अब पार्टी एकतामा जोड दिने निष्कर्ष निकालिएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए।
एकताका लागि सबै पक्षसँग परामर्श गर्ने निष्कर्ष समेत बैठकको रहेको उनको भनाइ छ। नेता विश्वकर्माले अदालतको फैसलाले आधार मानेका विभिन्न विषयहरू विरोधाभासपूर्ण र विवादस्पद भए पनि त्यसलाई मानेर अघि बढ्ने निर्णय भएको उल्लेख गरे।
यसअघि शेरबहादुर देउवाको खुट्टामा बल रहे पनि अहिले गगन थापाको खुट्टामा अदालतले बल फाल्दिएको अवस्थामा पार्टीलाई एकताबद्ध बनाउन सभापति थापाले नै मुख्य भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।
खड्का पक्ष नेताहरुले अदालतको आदेश र पार्टीभित्रको विवादका विषयमा आइतबार नै आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको छ।



