काठमाडौँ- नेपाली कांग्रेसमा शेरबहादुर देउवा समूह सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निष्कर्षमा पुगे पनि पार्टीभित्रको आन्तरिक द्वन्द्व पूर्ण रूपमा साम्य नभएकाले विभाजनको जोखिम कायमै देखिएको छ। देउवा पक्षले पार्टीमा सम्मानजनक उपस्थिति, जिम्मेवारीलगायतका विषयमा छलफल नभए पार्टी फुटबाट जोगाउन कठिन हुने ठहर गरेको हो।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएयता निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि गरिरह्यो। फागुन २१ को निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित संघीय सांसदहरूलाई केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण दिँदा देउवा समूहले धुम्बाराहीस्थित एउटा ब्यान्क्वेटमा बधाई कार्यक्रमको आयोजना गरेको थियो।
विशेष महाधिवेशनबाट गठन भएको अनुशासन समितिले समानान्तर गतिविधि नगर्न चेतावनी दिँदै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण नै सोध्यो। विशेष महाधिवेशन पक्षधरले समानान्तर गतिविधि भनिरहे भने देउवा समूहले आफ्ना कार्यक्रमलाई विधिसम्मत् रहेको दाबी गरे। देउवा समूहको तर्क थियो- विशेष महाधिवेशन मान्दैनौँ, आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
अर्थात् सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलगाउँदासम्म देउवा समूहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई आधिकारिक दाबी गरिरहेको थियो। शुक्रबार राति सर्वोच्चले विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगन थापालाई सभापतिको मान्यता दिएपछि देउवा समूह सकसमा परेको छ।
कतिपय नेताले आआफ्नो ढंगबाट प्रतिक्रिया दिए पनि देउवा समूहले सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ। शनिबार निवर्तमान कार्यवाहक सभापति खड्काको निवासमा बसेको यो समूहका नेताहरू गगन समूहलाई आधिकारिकता दिने सर्वोच्चको फैसला स्वीकार गर्ने निष्कर्षमा पुगेका हुन्। देउवा समूहका नेता मीनबहादुर विश्वकर्माले सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए।
‘विधिको शासनलाई मान्ने हाम्रो विगतको परम्परा हो, त्यसलाई नकार्न सकिँदैन,’ विश्वकर्माले हिमालप्रेससँग भने, ‘त्यसैले सर्वोच्चको फैसला मान्नुपर्छ भन्ने स्वाभाविक हो। कैयौँ असहमति छन् तर पनि फैसलालाई मान्नुपर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ।’ उनले असहमतिका विषय केके छन् भनेर केही खुलाएनन्।
केही समयअघिसम्म आफूलाई आधिकारिक भन्दै विशेष महाधिवेशन स्वीकार गर्न नसकिने तर्क गर्दै आएका यो समूहका नेताहरू अब कसरी अगाडि बढ्छन् भन्ने चासोको विषय बनेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति गगनले हस्ताक्षर गरेको टिकट लिए पनि कतिपय नेताहरू त्यसपछि विशेष महाधिवेशनको विपक्षमा देखिएका थिए।
विशेष महाधिवेशनका विपक्षमा देखिएका नेताहरू अब गगनको नेतृत्वलाई स्वीकार्दै एक ढिक्का भएर अगाडि बढ्लान् त भन्ने प्रश्न पनि खडा भएको छ। नेता विश्वकर्मा भने पार्टीलाई एक ढिक्का बनाउने जिम्मेवारी अब सभापति गगनमाथि आइपुगेको बताउँछन्। शनिबारको छलफलले पनि यही निष्कर्ष निकालेको उनको भनाइ छ।
‘सर्वोच्चको फैसला मान्दै गर्दा अब पार्टी सभापति गगन थापाले पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजानुहुन्छ त्यो उहाँको जिम्मेवारी हो,’ उनले भने,‘ कानुनी बाटोबाट एउटा अवस्थामा पुग्यौँ, अब पार्टीलाई एक ढिक्का कसरी बनाउन सकिन्छ भन्ने चरणबद्ध रूपमा छलफल गर्छौँ।’
विश्वकर्माले छलफलमा पार्टीलाई एक ढिक्का बनाउने आधारहरू खोज्ने कुरा भएको बताए। राजधानीबाहिर रहेका नेताहरूसँग समेत छलफल गरेर पार्टीलाई एकजुट बनाएर लैजाने विषयमा थप छलफल हुने उनले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा विशेष महाधिवेशनका प्रक्रियाहरू अगाडि बढेपछि कांग्रेस फुटको संघारमा पुगेको धेरैले अनुमान गरेका थिए। ती सबै अनुमानलाई देउवा समूहका नेताहरूले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनको हातबाट टिकट लिएर झुटा साबित गरिदिएका थिए।
चुनाव सकिएपछि फेरि कांग्रेस विभाजनका आशंका गरिएका थिए। विपक्षमा फैसला आउने समूह पार्टी विभाजनतिर अगाडि बढ्ने आशंका गरिएको थियो। देउवा पक्षले सर्वोच्चको फैसला स्वीकार गर्ने निर्णय गरेसँगै कांग्रेस विभाजनको संघारबाट जोगिएको हो त?
नेता विश्वकर्मा सर्वोच्चको फैसलालाई स्वीकार गर्ने निष्कर्षमा पुगे पनि पार्टी विभाजनको जोखिम अझै कायमै रहेको बताउँछन्। ‘फुटबाट जोगिहाल्यो त भन्न सकिएन किनभने एक पक्षले विजय हासिल गर्यो, अर्को पक्षसँग विजय हासिल गर्ने पक्षले संवाद गर्यो भने पार्टी फुटबाट जोगाउन सकिन्छ,’ उनी भन्छन्, ‘तर संवाद भएन, साथीहरूको सम्मानजनक उपस्थिति, जिम्मेवारीलगायतका विषयमा छलफल भएन भने दुर्घटनाबाट जोगाउन गाह्रो हुन्छ।’
१५ औँ महाधिवेशनलाई साझा महाधिवेशन बनाउन स्वयं सभापतिले भूमिका खेल्नुपर्ने उनको भनाइ छ। सभापति गगन थापाले पार्टी एकताका लागि आवश्यक पहल गर्ने विश्वकर्माले विश्वास व्यक्त गरे।
‘पार्टी सभापतिले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा हेर्यौँ, सकारात्मक छ,’ उनले भने, ‘पार्टी एकताका लागि उहाँले पहल गर्नुहुन्छ भन्ने विश्वास छ।’
नेता खड्काले अब कार्यवाहक नलेख्ने छलफलले निष्कर्ष निकालेको विश्वकर्माले बताए। उनले भने, ‘उहाँले अब कार्यवाहक लेख्नु हुँदैन, अदालतको फैसला मानेपछि कार्यवाहक भन्न पनि मिलेन।’
छलफलमा नेता खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, रमेश लेखक, प्रकाशमान सिंह, प्रकाशशरण महत, शशांक कोइराला, एनपी साउद, उमाकान्त चौधरीलगायतका नेताहरू सहभागी थिए।




