काठमाडौँ- पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न भागमा आगलागी, वन डढेलो र सर्पदंशका २० वटा विपद्का घटनाहरू भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाहरूमा कुनै मानवीय क्षति नभए पनि पाँच जना घाइते भएका छन् भने लाखौँको धनमाल नष्ट भएको छ।
रामेछापको खाँडादेवी गाउँपालिका–४ मा विद्युत् सर्ट भई एकै घरमा १५ लाख बराबरको सुनचाँदी र नगद नष्ट भएको छ । यस्तै, सुनसरीको वराहक्षेत्र–७ मा भएको आगलागीमा ५ लाख ६० हजारको धनमाल जलेर नष्ट भएको छ ।
नवलपरासी (पश्चिम), पर्वत र झापामा पनि आगलागीले ठुलो क्षति पुर्याएको छ । रौतहटमा गुडिरहेको स्कार्पियो गाडीको इन्जिनमा आगलागी हुँदा गाडीमा क्षति पुगेको छ । गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि बढिरहेको छ । मकवानपुर, नवलपरासी (पूर्व) र पाल्पाका विभिन्न सामुदायिक वनहरूमा डढेलो लागेको छ । प्राधिकरणको रिपोर्टअनुसार वन डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय र सुरक्षा निकायको सक्रियता रहँदै आएको छ ।
सर्पदंशका कारण झापा, पाल्पा र बर्दियामा तीन जना घाइते भएका छन् । कैलालीको टीकापुरमा खाना पकाउने क्रममा ७७ वर्षीया वृद्धा घाइते भएकी छिन् भने सर्लाहीमा घोडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सुर्खेतमा वनमा चराउन लगिएका २१ मध्ये ५ बाख्रा मृत र ७ घाइते अवस्थामा फेला परेका छन् । सबै घटनाहरूमा स्थानीय समुदाय, प्रहरी र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो । प्राधिकरणले आगलागी र डढेलोबाट बच्न सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।



