नववर्ष २०८३ शुभ फल गर्ने वर्ष रहेको ज्योतिषविद्हरूको दाबी

हिमाल प्रेस २ वैशाख २०८३ ८:०३ | Wednesday, April 15, 2026
8
SHARES
नववर्ष २०८३ शुभ फल गर्ने वर्ष रहेको ज्योतिषविद्हरूको दाबी

काठमाडौँ- ज्योतिष शास्त्रीय दृष्टिमा नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा रहेकामा ज्योतिषविद्हरूले जोड दिनुभएको छ । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले नववर्ष २०८३ का अवसरमा आयोजना गरेको ‘ज्योतिष शास्त्रीय शास्त्रीय दृष्टिमा विसं २०८३ कस्तो रहला?’

विषयक ज्योतिर्विद्हरूसँगको साक्षात्कार कार्यक्रममा विश्व ज्योतिष महासङ्घ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमले २०८३ सालमा आठ शुभ ग्रह परेको र सूर्य एवं मङ्गल गरी दुई मात्र अशुभ ग्रहयोग रहेको जानकारी दिए। लग्नेश चन्द्र र राहु अष्टम भएकाले आगामी वर्ष विश्वमा उतारचढाव बढी हुने उनले बताए। त्यसको प्रभावस्वरूप नेपालमा पनि आरोहअवरोह आउने ग्रहयोग छ ।

‘युरोप र अरबका सैन्य गतिविधि बढ्ने देखिन्छ, खासगरी सैन्यशक्ति वृद्धिको होडबाजीको सम्भावना छ,’ गौतमको भनाइ थियो । शक्ति राष्ट्रहरूबीचको अहम्का कारण विश्व समीकरण बदलिन सक्नेतर्फ उनले सचेत तुल्याए। युद्ध र रोगव्याधिको सम्भावना पनि त्यत्तिकै रहेको उनले बताए। महिला हिंसाका घटनामा पनि वृद्धि हुने, विकसित मुलुकको मुद्रा बलियो र कमजोर मुलुकको झन् कमजोर बन्ने खतराको ग्रहयोग रहेको उनको भनाइ थियो।

नववर्षमा मङ्गल भाग्यमा भएकाले प्रविधिका क्षेत्रमा भने प्रगति हुने अध्यक्ष गौतमको भनाइ थियो । उनले भने, ‘बुध निचो भएकाले व्यापारमा भने कुनै समूहको एकाधिकार रहने देखिन्छ । कला सञ्चार क्षेत्रमा प्रगति हुने देखिन्छ ।’

विश्व शेयर बजार बढ्ने ज्योतिषीय प्रक्षेपण उनले गरे। यद्यपि, विलासिताका सामान खरिदमा होडबाजी यथावत् रहने र मूल्य वृद्धिले जनआक्रोश बढ्नेतर्फ गौतमले सचेत तुल्याए। ‘बौद्धिक र सामाजिक क्षेत्रमा खिचलोको वर्ष छ,’ उनले भने, ‘नेपालको सन्दर्भमा केन्द्रित रहेर भन्नुपर्दा आगामी मङ्सिरसम्म चतुर्थ राहु र दशम् केतुको प्रभावले बौद्धिक र आर्थिक क्षेत्रमा प्रगति भए पनि धार्मिक क्षेत्रमा बाधाको योग रहेको उनले बताए।

संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले २०८३ सालमा पनि दारुण काल नै चलिरहने भएकाले सतर्क रहनुपर्ने बताए। उनले भने, ‘यो वर्ष दुई दुई वटा खप्पर योग परेको छ, त्यो दारुण कालको अन्त्य देखिएन ।

विश्वमा युद्धका सम्भावनाहरू पनि देखाउँछ यसले । हामी सचेत हुनुपर्छ ।’ उहाँले दोस्रो विश्वयुद्धका समयमा पनि दारुण काल रहेको भन्दै त्यही स्थिति अब पनि ग्रहहरूले सङ्केत गरेको बताए। नववर्ष २०८३ मा धार्मिक भावनाहरू झनै ह्रास हुने टिप्पणी उनले पनि गरे।

प्रकाशित: २ वैशाख २०८३ ८:०३ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast