सुर्खेतमा निःशुल्क जलन उपचार शिविर, झन्डै दुई सयले लिए सेवा

हिमाल प्रेस ३० चैत २०८२ १९:४२ | Monday, April 13, 2026
10
SHARES
सुर्खेतमा निःशुल्क जलन उपचार शिविर, झन्डै दुई सयले लिए सेवा

सुर्खेत- सुर्खेतस्थित प्रदेश अस्पतालमा तीनदिनसम्म सञ्चालित नबिल निःशुल्क जलन उपचार शिविरमा झन्डै दुई सय जना जलेका बिरामीहरूको स्वास्थ्य जाँच गरिएको छ। चैत २७ गतेदेखि २९ गतेसम्म अस्पतालमा शिविर सञ्चालन गरिएको थियो।

शिविरमा १९४ जनाको जाँच गरिएको छ भने त्यसमध्ये ३९ जनाको शल्यक्रिया गरिएको छ। साथै एक जना बिरामीलाई जटिल भएकोले थप शल्यक्रियाका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको छ।

गत चैत २३ गतेदेखि २६ गतेसम्म कर्णाली प्रदेशका १६ स्थानमा जलनका बिरामी जाँच छनोट शिविर गरिएको थियो। त्यसबेला सुर्खेतका साथै रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट, सल्यान र दैलेखका १६ स्थानीय तहमा छनोट शिविर गरिएको थियो।

नबिल बैंकको सहकार्य तथा कीर्तिपुर अस्पताल, फेक्ट नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश अस्पतालको आयोजनामा गरिएको छनोट शिविरबाट १८३ जना बिरामी छनोट गरिएका थिए।

कीर्तिपुर अस्पतालका प्राविधिक कैलाश खाकी श्रेष्ठले विभिन्न स्थानमा शिविर गरेर छनोट गरिएका बिरामीहरूका लागि चैत २७ देखि २९ गतेसम्म प्रदेश अस्पतालमा शल्यक्रिया गरिएको बताए।

उनका अनुसार प्रदेश अस्पतालमा गरिएको शिविरमा विभिन्न पालिकामा गरिएको शिविरबाट छनोट भएर आएका बिरामीका साथै अन्य जलन बिरामीहरूको पनि जाँच गरिएको थियो। ३९ जनाको शल्यक्रिया गरियो भने अन्यको जाँच गरी क्रिमलगायत निःशुल्क औषधि प्रदान गरिएको छ।

प्रदेश अस्पतालमा शिविरमा आउने विरामीहरुको शल्यक्रियाका साथै आतेजाने, बस्ने र कुरुवालाई खाना पनि निःशुल्क गरिएको नबिल बैंकले जनाएको छ । साथै शल्यक्रियापछि गरिने घाउ सफाईसम्म बस्दा लाग्ने खर्च पनि निःशुल्क गरिएको छ । प्रदेश अस्पतालको शिविरमा कीतिपुर अस्पतालका बरिष्ठ चिकित्सकहरु डा.शङ्करमान राई, किरण नकर्मीलगायतको टोली संलग्न थियो । आगोमा जलेका, जन्मँै ओठ तालु चिरिएका, औंला जोडिएका, औंला बढी भएका तथा चोटपटक लागेर समस्यामा परेकाहरुका लागि जलन शिविरमा उपचार गरिएको थियो ।

प्रकाशित: ३० चैत २०८२ १९:४२ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast