रास्वपा कार्यकर्ताहरूले किन गरे अमरेशविरूद्ध प्रदर्शन?

हिमाल प्रेस ३० चैत २०८२ १५:५८ | Monday, April 13, 2026
54
SHARES
रास्वपा कार्यकर्ताहरूले किन गरे अमरेशविरूद्ध प्रदर्शन?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहको विरोधमा आफ्नै पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। महोत्तरीको जलेश्वरमा सांसद सिंहविरूद्ध रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।

सर्लाही–४ बाट निर्वाचित सांसद सिंह सोमबार महोत्तरी सदरमुकाम जलेश्वर पुगेर प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतका सरकारी कार्यालयका प्रमुखहरूसँग जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेका थिए।

कार्यालय प्रमुखहरूसँग छलफल गरिरहेकै बेला जिल्ला प्रशासन कार्यालय पुगेका रास्वपाका कार्यकर्ताहरूले उनीविरूद्ध नाराबाजी गरेका थिए। रास्वपाका कार्यकर्ताहरूले ‘अमरेश सिंह’ मुर्दाबादलगायतका नारा लगाएका थिए।

रास्वपाका कार्यकर्ताहरू बैठक कक्षमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो।

अन्य क्षेत्रका सांसद महोत्तरी आएर आफूहरूसँग समन्वय नगरी कार्यालय प्रमुखहरूसँग छलफल गरेको भन्दै उनीहरूले सांसद सिंहविरूद्ध प्रदर्शन गरेको बताइएको छ। विरोध प्रदर्शनमा रास्वपाका प्रकाश पाठक, अशोक झा, विक्की पाण्डेयलगायतका नेता कार्यकर्ताहरू सहभागी थिए।

पार्टीबाट अधिकारै नपाएर अरूको क्षेत्रमा नेता कार्यकर्ताहरूसँग सहकार्य नगरी सांसद सिंहले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अनुसन्धान विभागका अधिकृतलगायतका कार्यालय प्रमुखहरूसँग छलफल गरेकाले विरोध गरेको उनीहरूको भनाइ छ।

जलेश्वर महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ। यो क्षेत्रबाट रास्वपाकै उज्जवल झा निर्वाचित भएका छन्। सांसद झा अहिले जलेश्वरमै रहेको बताइएको छ।

कार्यालय प्रमुखहरूसँगको छलफलपछि प्रमुख जिल्ला अधिकारीलाइृ लिएर महोत्तरी–३ का सांसद झाको निवास पुगेको बताइएको छ।

प्रकाशित: ३० चैत २०८२ १५:५८ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast