काठमाडौँ- श्राद्धपद्धतिको ग्रन्थ ‘षट्श्राद्धसङ्ग्रहः’ लोकार्पण गरिएको छ।
सबैभन्दा सजिलो र शास्त्रीय पुस्तकको दाबी गरिएको यो ग्रन्थ नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, सहप्राध्यापक श्रीराम सापकोटा, एसियाली विकास बैंकका उच्च निर्देशक तथा अर्थविद् प्रा. डा. प्रद्युम्नविक्रम राणा, रामानुज आश्रम राम्दी पाल्पाका पीठाधीश स्वामी डा. केशव प्रपन्नाचार्य, वाल्मीकि विद्यापीठ फलित ज्योतिष विषयका सहप्राध्यापक उपेन्द्रप्रसाद भट्टराई, स्वास्थ्य सेवा विभागका पूर्व सहसचिव तथा विश्व बैंकका पूर्ववरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. तीर्थ राणा, सामान्य प्रशासन मन्त्रालयका पूर्वउपसचिव श्रीमती माधुरी राणा, जनज्योति माध्यमिक विद्यालयका संस्थापक एवं शिक्षाविद् आनन्दविक्रम राणा, समाजसेवी सावित्री लुइँटेल तथा कृतिका संकलक तथा सम्पादक लक्ष्मण सापकोटालगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
कार्यक्रममा समितिका पूर्वअध्यक्ष अधिकारीले शास्त्रीय विधिअनुसार वचन मिलेको पुस्तकका रूपमा ‘षट्श्राद्धसङ्ग्रह’ सार्वजनिक हुनु खुसीको विषय रहेको बताए।
सहप्राध्यापक सापकोटाले कस्तो अवस्थामा महिलाको एकपार्वण श्राद्ध गर्नेलगायतका श्राद्धसम्बन्धी विविध निर्णयका विषयमा चर्चा गरेका थिए। स्वामी केशव प्रपन्नाचार्यले भय, कर र अरूले के भन्छन् भनी नभई श्रद्धाले युक्त भएर श्राद्ध गरिनुपर्ने बताए। सहप्राध्यापक भट्टराईले मुण्डनादि श्राद्धका नियम कति लागू भए भनी खोजीको विषय हुनुपर्ने बताए।
पुस्तकका सम्पादक सापकोटाले ९६ प्रकारका श्राद्धमध्ये अहिले कतिपय श्राद्ध गर्न छाडिएको बताए। शास्त्रमा भएका श्राद्धसम्बन्धी विषयलाई पुस्तकमा समेटिएको जानकारी पनि उनले गराएका थिए। पुस्तकमा देखिएका अशुद्धिलाई आगामी प्रकाशनमा सुधार गर्दै लैजाने प्रतिबद्धता पनि उनको थियो।
नेपाली सेनाका अवकाशप्राप्त पण्डित उपसेनानी भरत सापकोटाद्वारा सञ्चालित कार्यक्रममा श्रीधर सापकोटाले मन्तव्यमार्फत स्वागत गरेका थिए। एकोद्दिष्ट, एकपार्वण, दुईथरी पार्वण, तीर्थश्राद्ध, मासिकश्राद्ध र पितृसूक्तसमेत समेटिएको यस कृतिको मूल्य रु सात सय ५१ रहेको छ।
हालसम्म प्रकाशित पुस्तकमध्ये यसअघि कतै नपाइएको एकोद्दिष्टविधिको माता पितामहलगायत तीनै पुस्ताका सबै जनाको श्राद्धमा प्रयोग हुने छुट्टाछुट्टै र मिल्दो वचन तथा विभक्ति समेटिएको यस कृतिमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकाल तथा कार्यकारी निर्देशक लक्ष्मण पन्थी, प्रा.डा. ऋषिराम पोखरेल, प्रा.डा. देवमणि भट्टराई, सहप्राध्यापक नवराज न्यौपाने, राजन शर्मालगायतले शुभकामना मन्तव्य दिएका छन्।




