इरान-अमेरिकाबीच १४ घण्टा वार्ता, के सहमति भयो?

हिमाल प्रेस २९ चैत २०८२ ६:१६ | Sunday, April 12, 2026
46
SHARES
इरान-अमेरिकाबीच १४ घण्टा वार्ता, के सहमति भयो?

काठमाडौँ-  पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीच झन्डै १४ घण्टा वार्ता भएको छ। शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म दुई चरणमा गरिएको छलफल अहिलेका लागि सकिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका र इरान युद्ध अन्त्य गर्ने विषयमा सहमति गर्न असफल भएका छन्। वार्ता टुंगिए पनि  युद्धविराम जोखिममा परेको छ।

‘हामीले कुनै सहमति गर्न सकेनौँ। मेरो विचारमा यो संयुक्त राज्य अमेरिकाका लागि भन्दा इरानका लागि धेरै खराब खबर हो,’ अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख तथा उपराष्ट्रपति जेडी भान्सले इस्लामाबाद छोड्नुअघि पत्रकारहरूसँग भने।

त्यसैले कुनै सहमतिमा नपुगी अमेरिका फर्किन लागेको उनको भनाइ छ। इरानी टोली पनि पाकिस्तानबाट फिर्ता हुन लागेका छन्। भान्सले इरानले अमेरिकाले प्रस्ताव गरेका सर्तहरू स्वीकार नगरेको बताएका छन्। उनले भने, ‘ हामीलाई उनीहरूले आणविक हतियार नखोज्ने र त्यस्तो हतियार छिट्टै बनाउन सक्ने साधनहरू पनि नखोज्ने भन्ने स्पष्ट प्रतिबद्धता चाहिन्छ। यही संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको मुख्य लक्ष्य हो र यही लक्ष्य हामीले यी वार्तामार्फत हासिल गर्न खोजेका थियौँ।’

यस साताको प्रारम्भमा भएको युद्धविरामपछि इस्लामाबादमा भएको वार्ता एक दशकभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष अमेरिका–इरान बैठक थियो। यसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा उच्चस्तरीय संवाद पनि भनिएको छ।

इरानको अर्ध-सरकारी समाचार संस्था तसनिले अत्यधिक अमेरिकी मागहरूले सहमति हुनबाट अवरोध सिर्जना गरेको जनाएको छ। अन्य इरानी सञ्चारमाध्यमले केही मुद्दामा सहमति भएको भए पनि हर्मुज जल क्षेत्र र इरानको आणविक कार्यक्रम मुख्य विवादका विषय रहेको उल्लेख गरेका छन्।

इरानी परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले वार्ता अविश्वासको वातावरणमा भएको बताएका छन्। ‘एकै सत्रमै सहमति हुन्छ भन्ने अपेक्षा गर्नु स्वाभाविक थिएन,’ भन्ने उनीहरूको भनाइ इरानी सञ्चारमाध्यमहरूले उद्धृत गरेका छन्।

वार्तापछि जारी वक्तव्यमा पाकिस्तानका परराष्ट्रमन्त्री इसाक दारले पक्षहरूले युद्धविरामप्रतिको आफ्नो प्रतिबद्धता कायम राखिरहनु अत्यावश्यक रहेको बताएका छन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि सुरु भएको युद्धलाई शान्त पार्ने प्रयासस्वरूप दुवै पक्षले मंगलबार दुई हप्ते युद्धविराममा सहमति गरेका थिए।

छ हप्ताभन्दा बढी समयअघि सुरु भएको उक्त द्वन्द्वले हजारौँको ज्यान लिइसकेको र विश्वव्यापी तेलको मूल्य आकाशिएको अवस्थामा, २१ घण्टा लामो वार्ता असफल हुनुमा दुवै पक्षले एकअर्कालाई दोष दिएका छन्।

इरानी सरकारका अनुसार केही विषयमा मतभेद कायमै छन् तर वार्ता रोकिएको छैन। तर वार्ता फेरि कहिले सुरु गर्ने भन्ने तय भएको छैन। रोयटर्सका अनुसार इरानको सरकारी टीभीका एक संवाददाताले वार्ता आइतबार पनि जारी रहने बताएका छन्।

अमेरकी वार्ताको टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानतर्फ संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले वार्तामा नेतृत्व गरिरहेका छन्। इरानले लेबननमा जारी इजरायलको आक्रमण तत्काल रोक्न माग गरेको छ।

४७ वर्षअघि १९७९ मा इरानको इस्लामिक क्रान्तिपछि अमेरिकासँग यति ठूलो स्तरमा आमनेसामने वार्ता भएको हो।

प्रकाशित: २९ चैत २०८२ ६:१६ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast