काठमाडौँ- नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको अन्तर्राष्ट्रिय खेल त्रिवि क्रिकेट मैदानको फ्लड लाइटमा हुने भएको छ । शुक्रबार क्यानले युएईसँगको खेल त्रिवि मैदानमा हुने जनाएको छ ।
खेल साँझ ५ बजे हुनेछ । क्यानका अनुसार नेपालले अप्रिल २० र २१ गते युएईसँग टी २० खेल खेल्दै छ । त्रिविका फ्लड लाइट जडानपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल साँझमा हुन लागेको हो । पछिल्लोपटक क्यानले नेपाल प्रिमियर लिग फ्ड लाइटमा आयोजना गरेको थियो ।
यूएईसँगको खेलपछि मात्रै नेपालले युएई, ओमान सम्मिलित आईसीसी पुरुष क्रिकेट लिग–२ का खेल खेल्नेछ । यो शृंखला २५ अप्रिलबाट ५ मेसम्म हुनेछ । नेपालले फेरि १२ मेदेखि स्कटल्यान्ड र अमेरिका सम्मिलित लिग–२ कै शृंखला खेल्ने तालिका छ । २२ मेसम्म हुने खेल पनि त्रिवि क्रिकेट मैदानमै हुनेछ ।




