काठमाडौँको बलम्बु र धादिङको सिस्नेखोला जोड्ने दुई दशमलव छ सय ८८ किलोमिटर लामो नागढुंगा सुरुङमार्ग। सुरुङ सञ्चालनमा आएपछि राजधानीमा ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ।
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ।
मन्त्रालयले बिहीबार राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ।
मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो।
जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तोकिएको छ।
यस्तै मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि रु ११५ र बाहिरिँदा रु ८० तथा बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा रु २६० र बाहिरिँदा रु २०० शुल्क तोकिएको छ।
मल्टी एक्सल ट्रक÷सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० तोकिएको छ।




