ढोरपाटन (बागलुङ)- बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो।
शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेकी शाहीको आज (मंगलबार) बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्बर बोहराले जानकारी दिए। शाही काम गरेर साँझ घर नफर्किने क्रममा भिरबाट लडेको हुन सक्ने आशंका गरिएको छ।
राति अबेरसम्म घर नआएपछि आफन्तले खोजी गरेका थिए। आज बिहान ९ बजे निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहरमा शव फेला परेको प्रहरी निरीक्षक बोहराले बताए। अप्ठ्यारो बाटोमा यात्रा गर्दा उछिट्टिएर नहरमा खसेको उनको भनाइ छ।
प्रहरी निरीक्षक बोहराले भने, ‘नहरमाथि भिर रहेछ, साँझको बेला हिँड्दा उछिट्टिएर तल खसेको जस्तो देखियो, पछ्यौरा, कोदालोसहितका केही सामान पनि भिरमा अड्किएको अवस्थामा फेला परेको छ।’
शाहीको शव परीक्षणका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल ल्याइएको प्रहरी निरीक्षक बोहराले बताए। शाही बाटोदेखि करिब ५० मिटर तल नहरमा खसेको उनको भनाइ छ।




