काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त कीर्तिपुरले पेट्रोल चोरीमा संलग्न गिरोहका चार जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार राति करिब १:३० बजे काठमाडौँ महानगर क्षेत्रको कीर्तिपुर नगरपालिका-९ स्थित एक घरमा पार्किङ गरिराखेको बा २९ प २४२ नम्बरको मोटरसाइकलबाट पेट्रोल चोरी भइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका-५ घर भई हाल कीर्तिपुर बस्दै आएका २१ वर्षीय समिर बि.क., सोही स्थानका २३ वर्षीय सुवाश बि.क., नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भई हाल तारकेश्वर नगरपालिका-७ बस्ने २८ वर्षीय रमेश सदाशंकर र बर्दिया बाँसगढी नगरपालिका-७ घर भई हाल काठमाडौं बस्दै आएका २३ वर्षीय सन्देश श्रीपाली रहेका छन्।
समिर बि.क. बस्दै आएको कोठामा खानतलासी गर्दा नगद तथा विभिन्न चोरीका सामानहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामानमा नगद रु. ५६ हजार, तामाबाट बनेको जस्तो देखिने ४० थान मूर्ति, १५ बन्डल चुरोट, ६ थान एन्ड्रोइड मोबाइल, ४ थान किप्याड मोबाइल, सुनजस्तो देखिने कानको झुम्का एक जोर, रातो पोतेसहितको नेकलेस, २ थान शिरबन्दी, चाँदीजस्तो देखिने पाउजु एक जोर, दुई वटा मोटरसाइकल (प्रदेश ३-०२-००७ प ९३८६ र बा २५ प ६८७०) तथा १० थान हेल्मेट रहेका छन्।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।




