पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

हिमाल प्रेस २३ चैत २०८२ ७:१९ | Monday, April 6, 2026
4
SHARES
पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत- पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती विस्तार गरिएको छ। फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मुल बिउको खेती गरी अनुसन्धान थालिएको हो। बिउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाइएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ।

राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यालयको सहयोगमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँ अनुसन्धान गरिएको छ। ‘आत्मनिर्भरताका लागि बिउ उत्पादन’ कार्यक्रमअन्तर्गत बिउ उत्पादनमा लागिएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकृत सोविता सुवेदीले गौतम, भेरीगङ्गा हिमगङ्गा, जिंकलगायतका जातमा अनुसन्धान भइरहेको जानकारी दिए ।

स्थानीय शक्ति कृषि तथा पशुपक्षी फार्ममार्फत २० जना किसानले एकै क्षेत्रमा प्रजनन गहुँको बिउ खेती गरिरहेका छन्। अन्य प्रजातिभन्दा यी जातका गहुँको बिउ राम्रो उत्पादन भएको जनाइएको छ।

अन्य खेतीभन्दा सजिलो र सिँचाइको पहुँच पुगेकाले यस क्षेत्रका किसान हिउँदेबालीअन्तर्गत गहुँ खेतीमा लागेका छन्। गतवर्ष पनि पहाडी क्षेत्रको जात पहिचानका लागि राष्ट्रिय गहुँबाली अनुसन्धान परिषद् भैरहवाले विभिन्न आठ जातमा गरेको अनुसन्धान सफल भएको थियो । यसवर्ष पनि हावापानी अनुकूल भएको भन्दै प्रजनन् बिउ खेती गरिएको स्थानीय किसान रमेश चापागाईँले बताए।

उनले कृषि प्राविधिक आफ्नै खेतबारीमा आएर गहुँको अनुसन्धान गर्दा कृषकलाई आगामी दिनमा गहुँखेती गर्न सहज हुने बताए । कुन भूगोलमा कुन खेती गर्दा उत्पादन र आम्दानी गर्न सकिन्छ भन्ने चेतना वृद्धि भएको उनको भनाइ छ।

वर्षेनी तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइ अभावजस्ता कारण कृषकको गहुँखेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि गहुँखेतीतर्फ आकर्षण बढ्ने उनले बताए । गत वर्ष गहुँका विभिन्न आठ प्रजनन् बिउको अनुसन्धान गरिएकोमा हालसम्म चार जात सिफारिसका लागि छनोट गरिएको छ ।

अनुसन्धान पछि एनएल ११७९, एनएल १४८८, एनएल १४८६, एनएल १४५० नामक गहुँको जात खेतीका लागि सिफारिसको तयारी गरिएको जनाइएको छ । यी प्रजाति समुद्री सतहदेखि ८०० मिटरको उचाइमा राम्रोसँग उत्पादन हुने जनाइएको छ ।

प्रकाशित: २३ चैत २०८२ ७:१९ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast