तस्बिर : क्यान
वीरगञ्ज – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको छ।
वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा सुरुआती ‘ब्याटिङ’ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा सात ‘विकेट’ गुमाउँदै २२७ रन जोडेको थियो। गण्डकीका तर्फबाट अर्जुन कुमालले १०२ ‘रन’ जोडेका थिए भने विपिन खत्रीले ७६ रन जोडेका थिए। कोशी प्रदेशका तर्फबाट दिपेश कँडेलले चार विकेट र सुजन थपलियाले एक विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोशी ५० ओभरमा नौ ‘विकेट’ को क्षतिमा १८८ रनमा सीमित रह्यो। कोशी प्रदेशका तर्फबाट दिपेश कँडेलले ५२ रन र आशिष मगरले ३० रन जोडेका थिए।
गण्डकी प्रदेशका सिव्रिन श्रेष्ठले तीन विकेट र अपराजित पौडेलले दुई विकेट लिएका थिए। आजको खेलमा गण्डकी प्रदेशका अर्जुन कुमाल ‘म्यान अफ दी म्याच’ घोषित भए।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।




