सुर्खेत- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको वर्ष पुस्तक २०२६ को तथ्यांकअनुसार कर्णालीमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बढेको पाइएको छ।
तथ्यांकअनुसार कर्णालीमा एक वर्षमा ६९४ जना मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट पीडित भएका छन्। यस्तै अघिल्लो वर्ष ६०८ जना मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाबाट पीडित भएका थिए।
समीक्षा वर्षमा राज्य पक्षबाट ६ जना महिला, ७९ पुरुष र अन्य पक्षबाट ५३१ जना महिला तथा ७८ जना पुरुष गरी ६९४ जना पीडित भएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिए।
यस्तै बालअधिकार उल्लंघनका घटनाहरूमा समेत बढेको पाइएको छ। तथ्यांकअनुसार कर्णालीमा बालिका बलात्कार हुने दर बढ्दै गएको देखिन्छ। जसअन्तर्गत एक वर्षमा मात्रै प्रदेशभर ४९ वटा बलात्कारका घटनाहरू भएका छन्। यौन दुर्व्यवहारका १६ वटा घटना भएका छन्। यस्तै शारीरिक यातनाका दुई वटा र बालबालिका बेचबिखनका घटना अभिलेख भएको सुवेदीले बताए।
यस वर्ष कर्णालीमा महिला अधिकार उल्लंघन १९४ वटा घटना भएको भन्दै उनले सबैभन्दा धेरै बलात्कारका घटना ४८ वटा भएको जानकारी दिए।
मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले दण्डहीनताको अन्त्य हुन नसकेकाले यस्ता घटनाहरू भइरहने बताए।




