काठमाडौँ– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा ३८ जनाको शव फिर्ता ल्याउन समस्या भएको जनाएको छ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले उडान अवरुद्ध भएका कारण विभिन्न कारणले मृत्यु भएका करिब ३८ जना नेपालीको शव फिर्ता ल्याउन समस्या भएको बताए।
उनले चैत्र १८ गते कुवेत एयरलाइन्सबाट ९ वटा शव ल्याइसकिएको र अरु शवहरु पनि ल्याउने कार्य अघि बढिसकेको जानकारी दिए। प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा युद्ध सुरुभएयता करिव साढे ८६ हजार नेपालीले उद्धारको लागि नाम टिपाएकोमा हाल असुरक्षित रहेको छु भन्ने नेपालीहरुको संख्या क्रमशः घट्दै गएको उल्लेख गरे।
त्यसैगरि युद्धको समयमा अफवाह फैलाउने सामग्री सामाजिक सञ्जालमा नराख्न गरिएको निर्देशन नेपालीहरुले पालना गरिरहेको भन्दै उनले नियम उलंघन गर्ने केही नेपालीहरु पक्राउ परेको जानकारी दिए। यस्ता घटनामा हालसम्म एघार जना नेपालीहरू पक्राउ परेको खबर प्राप्त भएको उनले बताए। उनले इरानमा रहेका ११ जना नेपालीहरु सुरक्षित अवस्थामा रहेको र दोहास्थित नियोग सम्पर्कमा रहेको जानकारी दिए।
प्रवक्ता क्षेत्रीले ठूलो समस्यामा परेर नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्बन्धीत दुतावासमा सम्पर्क गर्न भनेको र आवश्यक सहजीकरण गर्ने काम अघि बढाइएको बताए। पश्चिम एसियाको युद्धका कारण ठूलो संख्यामा रोजगारी गुम्न सक्ने अवस्था नदेखिएको उनको भनाइ छ।




