काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आजदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो।
यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०१ रुपैयाँ र तेस्रो वर्गमा २०२ रुपैयाँ तथा डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८१ रुपैयाँ र तेस्रो वर्गमा १८२ रुपैयाँ तोकेको छ।
मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पर्ने भएको छ। निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ।
यही मार्च १६ र ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४७.१२ रुपैयाँ र डिजेलमा प्रतिलिटर १३३.४५ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहने तथा सोही अनुसार मूल्य समायोजन हुन नसक्दा पाक्षिकरुपमा १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको निगमले स्पष्ट पारेको छ।
घाटा रकम बढ्दै जाँदा इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।




