काठमाडौँ- सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ।
बिहीबार अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकमा राजस्व चुहावटका रोक्नका लागि विभिन्न विभागहरुले गरिरहेका कामका बारेमा सम्बन्धित निकायका प्रमुखहरुले जानकारी गराएका थिए। बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिए।
त्यस्तै मन्त्रीद्वयले सीमामा सूक्ष्म निगरानी राख्न र बजार अनुगमनका केन्द्रित हुन समेत निर्देशन दिएको अर्थमन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए। राजस्वको लक्ष्यमा पुग्नका लागि टास्क फोर्स गठन गरेर कार्ययोजनाका साथ नजिता देखिने गरी काम गर्ने र अर्को बैठकमा समीक्षा गर्ने गरी बैठक सकिएको प्रवक्ता पाण्डेयले बताए।
बैठकले गरेका निर्णयहरु कार्यान्वयनका लािग सम्बन्धीत निकायमा पठाउने उनले बताए। बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुखका साथै तीनवटै सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।




