काठमाडौँ- नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सञ्चालन गरिएको ११औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ। समारोहमा दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
समारोहका क्रममा प्रहरी महानिरीक्षक कार्कीले तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै प्रशिक्षक र तालिम सफल बनाउन योगदान पुर्याउनेलाई प्रशंसापत्र प्रदान गरे। उनले महाविद्यालय परिसरमा निर्माण गरिएको ‘आर्म ब्याज’ नमुना स्तम्भको अनावरण पनि गरेका थिए।
सम्बोधनका क्रममा कार्कीले शारीरिक र मानसिक रूपमा चुनौतीपूर्ण भए पनि गौरवपूर्ण यस तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा प्रशिक्षार्थीहरूलाई बधाई दिएका थिए। उनले तालिमबाट प्राप्त ज्ञान, सीप, आत्मविश्वास र साहस आन्तरिक सुरक्षा, विपद् उद्धार, आतंकवाद नियन्त्रण तथा विशिष्ट व्यक्तिको सुरक्षामा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
उनले प्रशिक्षार्थीहरूलाई भविष्यमा अनुशासन, नैतिकता र इमान्दारितालाई आत्मसात् गर्दै कुनै पनि प्रलोभन वा दबाबमा नपरी कानुनसम्मत सेवा प्रवाह गर्न निर्देशन समेत दिए।
कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान का कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले धन्यवाद ज्ञापन गरेका थिए भने महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.राले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
तालिम संयोजक प्रहरी उपरीक्षक प्रदिपबहादुर क्षेत्रीका अनुसार ९० कार्यदिनको उक्त तालिममा प्रहरी निरीक्षक ७, सहायक निरीक्षक १८ र प्रहरी जवान ६८ गरी कुल ९३ जना प्रशिक्षार्थी सहभागी थिए।
समारोहमा प्रशिक्षार्थीहरूले बाधापार, हतियार खोलजोड, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू, फायर एण्ड मुभ, खाली हात लडाइँ तथा एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल सम्बन्धी प्रदर्शन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बिमला अर्याल, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, वरिष्ठ प्रहरी अधिकृत तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।




