काठमाडौँ- नयाँ वर्षको छेकोमा यही चैत २७ मा ‘राम नाम सत्य’ एकल प्रदर्शन हुने भएकाे छ। यो मितिमा आउने भनिएका अन्य नेपाली फिल्म पोष्टपोन्ड भएसँगै माइकल चन्द निर्देशित फिल्मले एकल प्रदर्शनकाे अवसर पाएको हो।
यही मितिमा ‘छत्तिसको आँकडा’, ‘काजी’ र ‘डल्लेले इन्ट्री मार्यो’ ले प्रदर्शन मिति तोकेका थिए। यसले ४ फिल्मबीच प्रतिस्पर्धा हुने चर्चा पनि थियो तर, ‘छत्तिसको आँकडा’, ‘काजी’ र ‘डल्लेले इन्ट्री मार्यो’ ले प्राविधिक काम नसकिएको भन्दै मिति पोसपोन्ड गरे।

यसको फाइदा ‘राम नाम सत्य’ ले उठाउने पक्का भएकाे छ। माइकल चन्द निर्देशित फिल्म एक्सन जनरामा बनेकोले सुरुदेखि नै चर्चामा छ। साथै यो अभिनेता स्व.सुनील थापाको अन्तिम फिल्म हो। सुनिलकाे हृदयघातका कारण मृत्यु भएकाे थियाे।
फिल्ममा समावेश ‘धागोले बाटेको’ र ‘हुम्लाको लिमी’ बोलको गीत पनि दर्शकले रुचाएका छन्। फिल्मको ट्रेलर भोलि सार्वजनिक गर्ने टिमको तयारी छ।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुषसिंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार, दिनेश डीसीलगायतका कलाकारले अभिनय छ।
निर्देशक चन्दकै पटकथा तथा संवाद समेत रहेको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ।




