डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बने विशाल

हिमाल प्रेस १७ चैत २०८२ १७:४४ | Tuesday, March 31, 2026
16
SHARES
डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बने विशाल

काठमाडौँ- फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु कलाकार विशाल देवकोटा देखिएका छन्।

निर्माण पक्षले उनीहरूलाई जोडीको रुपमा प्रस्तुत गरेको छ। उनी रंगमञ्चबाट फिल्ममा भित्रिएका हुन्। नाटक अभिनयसँगै निर्देशनसमेत गरिसकेका विशाल अडिसनमार्फत ‘लालीबजार’ मा जोडिएको बताउँछन्।

सानैदेखि कलाकार बन्ने सपना बोकेका विशाल नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढिरहेका थिए। रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका देवकोटाले त्यसैको निरन्तरता स्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन्।

फिल्ममा उनले ‘नारायण’ पात्रको अभिनय गरेका छन्। ‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ,’ उनले भने।

पछिल्लो समय कान्तिपुर थिएटरमा मञ्चन भएको नाटक ‘मीरा’ मा गरेको अभिनयले नै फिल्म ‘लालीबजार’ टिमसँग जोडिने मौका पाएको उनको बुझाइ छ।

उनले भने, ‘यसअघि मैले कान्तिपुर थिएटरमा ‘मिरा’ नाटकमा अभिनय गरेको थिए। नाटक हेर्न प्रदिप भट्टराई सर, रवीन दाइ, जेवी दाइ आउनुभएको थियो। नाटक हेरिसकेपछि उहाँहरूले अप्सनका लागि भनेर मलाई अफिसमा बोलाउनु भयो। मैले फिल्मको अडिसन चलिरहेको थियो। त्यसैमा मैले पनि अडिसन दिए। र अन्तमा छनोट भए।’

विशालको अभिनय कौशलताकै कारण डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बन्ने अवसर पाएको निर्माण कम्पनी षट्कोण आर्टस जनाएको छ।

नयाँ टिम भए पनि काम गर्दा आफूलाई सहज अनुभव भएको उनले बताए। ‘षट्कोण आर्र्टस जस्तो स्थापित ब्यानरबाट डेब्यु गर्न पाउनु मेरो सौभाग्य हो,’ उनले भने।

रंगमञ्च र फिल्म अभिनयबीचको भिन्नता अनुभव गर्दै उनले दुवै माध्यममा अभिनयको स्वरूप फरक हुने बताए। रंगमञ्चमा एकैपटक पात्रलाई पूर्ण रूपमा जिउन पाइने भएपनि फिल्ममा भने दृश्य-दृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने उनको बुझाइ छ।

यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म आगामी वर्ष वैशाख १८ देखि प्रदर्शन हुनेछ। फिल्मको गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन्। गीत ८० लाख दर्शकले हेरिसकेका छन्।

फिल्ममा अन्य कलाकार रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरीलगायतको अभिनय छ।

फिल्मको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

प्रकाशित: १७ चैत २०८२ १७:४४ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast