नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाद्वारा पदभार ग्रहण (जीवनीसहित)

हिमाल प्रेस १३ चैत २०८२ १६:१५ | Friday, March 27, 2026
24
SHARES
नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाद्वारा पदभार ग्रहण (जीवनीसहित) सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना

काठमाडौँ– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पदभार ग्रहण गरेका छन्।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनले शुक्रबार पदबहाली गरेका हुन्।

मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारी र मातहतका निकायका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पद प्राप्तिभन्दा जिम्मेवारी पूरा गर्नु नै आफ्नो प्राथमिकता भएको बताए।

उनले देशले निकास खोजिरहेको उल्लेख गर्दै राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्न सबैलाई आह्वानसमेत गरे।

‘हामीले जिम्मेवारी लिएका छौँ, हाम्रो सबैभन्दा ठूलो धर्म राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्नु हो,’ उनले भने, ‘राजनीति नै गलत हो भन्ने सन्देश प्रवाह भइरहेको अवस्थालाई सुधार्दै देशमा आशा जगाउनुपर्छ।’

तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र शाहको ‘मिसन’ र ‘भिजन’ अनुसार मन्त्रालयले पूर्ण सहयोग गर्ने उल्लेख गरे। कर्मचारीलाई पनि इमानदारिता र क्षमता प्रयोग गर्दै सामूहिक भावनाका साथ काम गर्न उनले आग्रहसमेत गरे।

तपाईँका हरेक विचारहरू यो देशका नीतिनियम, ऐनसँग बाझिने पनि हुनुहुँदैन। यो देशका जनताको सपनासँग बाझिने पनि हुनुहुँदैन। कृपया यो कुरा मनमा राखेर आफ्ना काम कर्तव्यलाई अगाडि बढाउनु होला,’ मन्त्री तिमिल्सनाले भने।

उनले आजैका दिनदेखि आफ्नो कर्तव्यमा होमिएका र देशलाई अगाडि बढाउनका लागि समर्पित भएर लाग्ने धारणा राखे।

अनुसन्धान विशेषज्ञ एवं विश्लेषक सञ्चारमन्त्री

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री तिमल्सिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नुवाकोट क्षेत्र नं १ बाट निर्वाचन सांसद हुन्।

रास्वपाका केन्द्रीय परराष्ट्र विभागका उपप्रमुख डा. तिमल्सिनाले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट राजनीतिक र अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। सांसद हुनुअघि उनी त्रिभुवन विश्वविद्यालयको आन्तरिक सुरक्षा, राजनीति र कूटनीतिमा अध्यापन गराउँथे।

डा. तिमल्सिना अनुसन्धान विशेषज्ञ एवं विश्लेषक हुन्। नेपालको शान्ति प्रक्रिया, परराष्ट्र नीति र भू–राजनीतिक जटिलताको सूक्ष्म अध्ययन एवं अन्तर्राष्ट्रिय मञ्चमा अनुसन्धानमूलक प्रस्तुतिमार्फत देशको नीतिगत बहसलाई डो¥याउने कार्यमा पनि संलग्न थिए।

साहित्य, लेखन र पत्रकारिता क्षेत्रमा पनि आबद्ध डा. तिमल्सिना ‘भ्रष्टाचारविरुद्धको लडाईं ः एन्टी करप्सन स्टडिज’ का विज्ञ मानिन्छन्। उनी ‘एसियन इस्टिच्युट फर एड्भान्स रिसर्च’ का संस्थापक पनि हुन्।

प्रकाशित: १३ चैत २०८२ १६:१५ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast