‘शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार पहिलो सर्त’

हिमाल प्रेस १३ चैत २०८२ ९:५३ | Friday, March 27, 2026
6
SHARES
‘शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार पहिलो सर्त’

सिरहा- लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार एक विशेष कार्यक्रमका बीच नवनिर्माण गरिएको चारकोठे भवन, हात धुने स्थान, शौचालय र खानेपानी संरचना हस्तान्तरण गरिएको छ।

विद्यालयमा निर्मित चारकोठे भवन नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ४५ लाख लागतमा निर्माण गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।

यसका साथै नगरपालिकामा सञ्चालित ‘द विकन परियोजना’ मार्फत रु १७ लाख ५३ हजार १७८ को लागतमा भवनबाहेकका अन्य सरसफाइ र खानेपानीका संरचना निर्माण गरिएका हुन्।

यो परियोजनामा वाटर एड नेपाल, नेपाल खानेपानी संस्थान, लहान नगरपालिका र दलित जनकल्याण युवा क्लब साझेदारका रूपमा रहेका छन्।

हस्तान्तरण कार्यक्रममा नगरप्रमुख चौधरीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार पहिलो सर्त भएको बताए।

उनले भने,‘सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारबिना गुणस्तरीय शिक्षा सम्भव हुँदैन। विद्यार्थीका लागि सुरक्षित र बालमैत्री वातावरणमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। अब भौतिक संरचना तयार भइसकेकाले यस विद्यालयमा पनि अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गरिनेछ।’

विद्यालयकी प्रधानाध्यापक सुधा चौधरीले करिब २०० विद्यार्थी रहेको यस विद्यालयमा जीर्ण भौतिक संरचनाका कारण विगतमा पठनपाठनमा ठूलो समस्या भोग्नुपरेको स्मरण गरिन्।

उनका अनुसार पहिले शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरू बाहिर जानुपर्ने र खानेपानीको अभावमा विद्यार्थी घरै फर्किनुपर्ने बाध्यता थियो, जुन अब पूर्ण रूपमा अन्त्य भएको छ।

लहान नगरपालिकाले पछिल्लो समय ‘एक विद्यालय, एक कम्प्युटर’ र ‘एक कक्षाकोठा, एक पङ्खा’ जस्ता कार्यक्रममार्फत डिजिटल र भौतिक सुविधा विस्तार गरिरहेको छ।

विकन परियोजनाले पनि लहानका विभिन्न विद्यालयमा १५ सयभन्दा बढी विद्यार्थीलाई स्वच्छ खानेपानी र एक हजार १०० भन्दा बढीलाई व्यवस्थित शौचालयको पहुँच पुर्‍याएको जनाएको छ ।

प्रकाशित: १३ चैत २०८२ ९:५३ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast