कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

हिमाल प्रेस १२ चैत २०८२ २१:२२ | Thursday, March 26, 2026
28
SHARES
कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ– कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ।

त्यसमा कोषका सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब १० करोड ५५ लाख मुनाफा जम्मा गरिएको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले दिए।

कोषका सञ्चालक समितिको गत फागुन २७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताको व्यक्तिगत खातामा रहेको सुरू मौज्दात रकममा १.०० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेबमोजिमको मुनाफा रकम सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा जम्मा गरिएको हो।

कोषले प्रत्येक आवमा आर्जन गरेको कुल मुनाफाको करिब ९० प्रतिशत रकम मुनाफाका रूपमा सञ्चयकर्ता र योगदानकर्ताको व्यक्तिगत खातामा जम्मा गर्ने र बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषमा राख्ने गर्दछ। यस्ता कल्याणकारी कोषमा रहेको रकम आवश्यकताअनुसार सञ्चयकर्ता र योगदानकर्ताको हितमा खर्च हुने गर्दछ।

यसैगरी, कोषले चालु आवमा सञ्चयकर्ता तथा योगदानकर्तालाई सञ्चित रकममा ४.२५ प्रतिशतका दरले ब्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताले कोषबाट ५.७५ प्रतिशत ब्याजमा सञ्चित रकमको ९५ प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन्।

कोषले सञ्चयकर्ता तथा योगदानकर्ताको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटीसमेत उपलब्ध गराउँदै आएको छ।

साथै, सञ्चयकर्ता र योगदानकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता तथा योगदानकर्ता दम्पतीलाई स्वास्थ्योपचार सोधभर्ना सुविधाका साथै काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायत सामाजिक सुविधा प्रदान गर्दै आएको छ।

सामाजिक सुविधाअन्तर्गत गत आव २०८१/८२ मा सुत्केरी तथा शिशु स्याहार सुविधावापत १९ हजार १११ जना सञ्चयकर्ता र योगदानकर्तालाई करिब १४ करोड ३४ लाख, काजकिरिया अनुदानवापत ६०५ जनालाई करिब दुई करोड ४२ लाख, दुर्घटना क्षतिपूर्तिवापत १७० जनालाई करिब तीन करोड ३९ लाख, स्वास्थ्योपचार सोध भर्नावापत पाँच हजार ३५५ जनालाई ३४ करोड र विशेष आर्थिक सुविधाबापत निजामतीतर्फका १७२ जना सञ्चयकर्तालाई करिब एक करोड ७३ लाख प्रदान गरिएको छ।

हाल कर्मचारी सञ्चय कोषमा पाँच लाख ७८ हजारको संख्यामा सञ्चयकर्ता र ९६ हजारको संख्यामा निवृत्तभरण कोषका योगदानकर्ता रहेका छन्।

प्रकाशित: १२ चैत २०८२ २१:२२ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast