‘बाटैबाटो’ नाटक लिएर सुदूरपश्चिम-कर्णाली यात्रामा कथा घेरा टिम

नाटकमार्फत महिला सशक्तीकरणको आवाज

सुस्मिता बजगाईं ११ चैत २०८२ ११:४२ | Wednesday, March 25, 2026
84
SHARES
‘बाटैबाटो’ नाटक लिएर सुदूरपश्चिम-कर्णाली यात्रामा कथा घेरा टिम

काठमाडौँ- कौशी थिएटर अर्थात् कथा घेरा टिम यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेश यात्रामा छ। घुम्ती नाटक ‘बाटैबाटो’ लिएर थिएटर टिम नै सुदूरपश्चिम र कर्णाली यात्रामा लागेको हो।

टिमले १० दिन १० स्थानमा नाटक मञ्चन गर्नेछ। जसअनुसार नाटक कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा देखाइनेछ।

उक्त टिमका अनुसार नाटक आज कैलालीको धनगढीमा पहिलो दिन मञ्चन हुँदैछ। दोस्रो दिन १३ गते कञ्चनपुरको भीमदत्त, १५ गते डोटीस्थित जोरायल, १७ गते डडेल्धुरास्थित अमरगढी र २० गते अछामको मंगलसेनमा मञ्चन गरिनेछ।

त्यस्तै, २२ गते दैलेखको दुल्लु, २४ गते दैलेखकै नारायण, २६ गते सुर्खेतको वीरेन्द्रनगर, २८ गते सुर्खेतकै भेरीगङ्गा र ३० गते सल्यानस्थित सल्लीबजारमा मञ्चन गरिने छ।

नाटक मञ्चनको समयावधि दिउँसो ३:३० देखि ५ बजेसम्म तोकिएको छ। नाटकका लागि कथा घेरा टिमले झन्डै एक महिना अघिदेखि तयारी गरेको थियो।

नाटकले महिला सशक्तीकरण र श्रममा समान अवसरको सन्देश बोकेको कथा घेरा थिएटरकी निर्देशक आकांक्षा कार्कीले बताइन्। ‘कथा घेराकै प्रस्तुतिमा हामीले एक सशक्त सामाजिक सन्देश बोकेको घुम्ती सडक नाटक तयार गर्‍यौँ र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा मञ्चन गर्न लागेका हौँ,’ उनले भनिन्।

उनको भनाइमा नाटक महिलाको आर्थिक स्वायत्तता, उद्यमशीलता तथा श्रममा सहभागिताको विषयमा केन्द्रित छ।

‘हाम्रो समाजमा लामो समयदेखि महिलाहरूले घरायसी तथा अवैतनिक श्रममा ठूलो योगदान पुर्‍याए पनि त्यसको उचित मूल्यांकन हुन सकेको छैन,’ नाटकको कथाबारे बताउँदै उनले भनिन्, ‘महिलालाई घरभित्र सीमित राख्ने परम्परागत सोच अझै पनि विद्यमान छ।’

नाटकले यस्ता सामाजिक धारणा र पूर्वाग्रहलाई चुनौती दिँदै महिलाले घर र पेसागत जीवन दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्ने उनी बताउँछिन्।

नाटकले परिवार, समुदाय र समाजका सदस्यहरूले महिलालाई आर्थिक गतिविधिमा सहभागी हुन प्रोत्साहन र समर्थन गर्नुपर्ने आवश्यकताको पनि उजागर गर्ने उनले बताइन्।

नाटकमा ८ जना कलाकार र संगीतकर्मी सहभागी छन्। कलाकारमा वेनिशा आचार्य, नेबिका सिलधर, सेविता अधिकारी, सुस्मिता कुँवर, जीवन ढकाल, विजय नेपाल, प्रसुनकुमार खत्री र रोबित मुनि तुलाधर छन्।

भ्रमण टोलीमा निर्देशक सुदाम छात्कुली, लुनिभा तुलाधर र परियोजना प्रमुखमा आकांक्षा कार्की सहभागी छन्।

उनको भनाइअनुसार नाटक GRAPE 2 (Green Resilient Agricultural-Centred Private Sector Economic Development) परियोजनाअन्तर्गत आयोजना गरिएको हो।

प्रकाशित: ११ चैत २०८२ ११:४२ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast