भारतको सर्वोच्च अदालत।
काठमाडौँ- भारतको सर्वोच्च अदालतले हिन्दू, सिख र बौद्ध धर्मसँग सम्बन्धित व्यक्तिहरूलाई मात्र अनुसूचित जाति वर्गको मान्यता प्राप्त हुन सक्ने फैसला गरेको छ। अदालतले मंगलबार गरेको फैसलामा एससी वर्गका कुनै व्यक्तिले यी तीन धर्मबाहेक अन्य कुनै धर्म अपनाएमा उनको एससी दर्जा खोसिने उल्लेख रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
‘हिन्दू, सिख वा बौद्ध धर्मबाहेक अन्य कुनै धर्म मान्ने व्यक्ति अनुसूचित जातिको सदस्य हुन सक्दैन। अन्य धर्ममा धर्मान्तरण गरेपछि अनुसूचित जातिको दर्जा समाप्त हुन्छ’, अदालतको आदेशमा उल्लेख छ।
अदालतका अनुसार यो व्यवस्था संवैधानिक आदेश (अनुसूचित जाति) १९५० मा स्पष्ट रूपमा उल्लेख गरिएको छ। इसाई धर्म अपनाएका एक व्यक्तिको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त फैसला दिएको हो।
निवेदकले केही व्यक्तिविरुद्ध एससी–एसटी (अत्याचार निवारण) ऐनअन्तर्गत मुद्दा दर्ता गराएका थिए। प्रतिवादीहरूले भने इसाई धर्म अपनाइसकेपछि निवेदकले उक्त ऐनअन्तर्गत मुद्दा दर्ता गर्न नमिल्ने भन्दै चुनौती दिएका थिए।
गत वर्ष अप्रिलमा आन्ध्र प्रदेश उच्च अदालतले इसाई धर्ममा जातीय व्यवस्था नरहेको भन्दै उक्त मुद्दामा एससी–एसटी ऐन लागू गर्न नमिल्ने फैसला दिएको थियो। त्यसविरुद्ध निवेदकले सर्वोच्च अदालतमा निवेदन दिएका थिए, जहाँ सर्वोच्च अदालतले उच्च अदालतको निर्णयलाई यथावत् राखेको छ।




