काठमाडौँ- बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेही विवादमा परेकी छिन्। ‘सरके चुनर तेरी सरके’ बोलको गीत विवादमा परेपछि उनी पनि त्यसको सिकार बनेकी हुन्। गीतको भिडियोमा उनले अभिनय गरेकी छिन्।
वकिलको एक समूहले उनलाई भारतबाट निकाला गर्न गृहमन्त्रालयमा उजुरी गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार १० जना वकिल मिलेर गरिएको उजुरीपत्रमा नोराको श्रम स्वीकृति रद्द गर्न र उनलाई तत्काल क्यानडा फिर्ता पठाउन माग गरिएको छ।
उजुरीमा वकिलहरूले उक्त गीत अत्यन्तै अश्लील, यौन उत्तेजक र महिलाको अस्मितामाथि चोट पुर्याउने खालको रहेको दाबी गरेका छन्। विदेशी नागरिकका रूपमा भारतमा काम गर्ने विशेषाधिकार पाएकी नोराले सार्वजनिक नैतिकता र मर्यादाको उल्लंघन गरेकोले उनलाई देश निकालाको माग गरिएको उजुरी पत्रमा उल्लेख गरिएको छ।
नोरा क्यानडाली नागरिक हुन्। यो गीत कन्नड फिल्म ‘केडी : द डेभिल’ मा समावेश गरिएको छ। गीतको हिन्दी भर्सन आएसँगै त्यसको शब्द अश्लिल भएको भन्दै अहिले आलोचना भइरहेको छ।
यसबारे आफ्नो बचाउमा स्पष्टीकरण दिँदै नोराले एक भिडियो सार्वजनिक गरेकी थिइन्। भिडियोमा आफूलाई गीतको हिन्दी अनुवाद र त्यसका शब्दहरूबारे कुनै जानकारी नभएको भन्दै आफू निर्दोष रहेको दाबी गरेकी छन्। गीत आजभन्दा ३ वर्षअघि नै छायांकन गरिएको पनि उल्लेख गरेकी छन्।
गीतको भिडियोमा नोरासहित अभिनेता संजय दत्तको पनि अभिनय छ। संजयजस्तो दिग्गज कलाकार भएकै कारण आफूले उक्त गीतमा अभिनय गर्न राजी भएको समेत खुलाएकी छन्।
साथै उनले आफूलाई कन्नड भाषा नआउने र निर्माण पक्षले हिन्दी डब गर्दा शब्दहरू परिवर्तन गरेको र यसबारे आफूसँग कुनै अनुमति नलिएको दाबी समेत गरेकी छन्।
विवाद चुलिएसँगै भारतीय सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाइसकेको छ र निर्माण टिमले गीत युट्युबबाट हटाइसकेको छ।तर नाेराप्रतिकाे विवाद साम्य भएकाे छैन।




