काठमाडौँ- फिल्म ‘आ बाट आमा २’ बन्ने भएको छ। ‘आ बाट आमा’ काे व्यापारिक सफलतासँगै टिमले सिक्वेल बनाउने घोषणा गरेका हुन्।
पहिलो भागले हलमा ५१ दिन पूरा गरेको छ। फिल्मले अहिलेसम्म १३ करोड १० लाख ९२ हजार ७ सय ७५ रुपैयाँ कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ। केही हलमा अझै फिल्म चलिरहेको छ।
यसैबीच निर्माण टिम दोस्रो भाग बनाउने तयारी गरिरहेको छ। सिक्वेलमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा दोहोरिने भएका छन्।
टिमले पल र विपनासँग कागजी सम्झौंता गरेको छ। सोमबार फिल्मका निर्देशक चन्द्र पन्तले दुवै कलाकार फिल्मका लागि अनुबन्ध गरेका हुन्।
‘आ बाट आमा’ मा विपना आमाको भूमिका छिन् भने पल छोराको। सोही कथालाई निरन्तरता र केहि फरकपनसहित विपना र पललाई अनुबन्ध गरेको निर्देशक पन्तले जानकारी दिए।
अघिल्लो फिल्मका अभिनेत्रीद्धय उषा उप्रेती, सिम्रन पन्तलाई निर्माण पक्षले निरन्तरता दिने बारे केहि खुलाएको छैन। यस बारे निर्देशक पन्तले केही समयपछि खुलाउने बताए।
उनका अनुसार यो फिल्म आगामी नयाँ वर्ष अर्थात् वैशाखबाट छायांकनमा जाने छ। फिल्म आगामी वर्षकै दसैँमा प्रदर्शन गर्ने टिमको तयारी छ।




