सुर्खेत- बर्दिया राष्ट्रिय निकुञ्जमा गत २३ फागुनमा सिकार खेल्न गएर बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७ दिनपछि फेला परेको छ।
सोमबार निकुञ्ज क्षेत्रमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका-२ स्थित झाँक्री खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए। ‘मृतकका भिनाजु आसे महतराले घटनास्थल पुगेर शवको सनाखत गरे,’ उनले भने।
उनका अनुसार निकुञ्जमा अवैध सिकारका लागि गएका पाँच जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा बराहताल गाउँपालिका-१, ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्।
फागुन २३ गते सिकार खेल्न गएका उनीहरू बेपत्ता भएको खबर चैत १ गते मात्रै आसे महतराले प्रहरीकहाँ पुर्याएका थिए। उनले आफ्नो साला नाता पर्ने टोपबहादुरसहित ६ जना गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएको बताएका थिए।
सूचना प्राप्त भएपछि प्रहरी चौकी रानीघाट, इलाका प्रहरी कार्यालय बग्नाहा, बानियाभार र बाबियाचौरबाट प्रहरी निरीक्षकहरूको नेतृत्वमा टोलीहरू परिचालन गरिएको थियो। खोजीकै क्रममा चैत ३ गते बराहताल–१ सुगरखालस्थित एक ओडारमा लुकाइएको अवस्थामा एक थान भरुवा बन्दुक र ५ वटा छर्रा बरामद भएको प्रहरीले जनाएको छ।
बेपत्ताहरूको खोजीका लागि नेपाली सेनाको जबरजंग गण रातामाटाबाट सहायक सेनानी दिनेश विकको नेतृत्वमा ३१ जना, प्रहरी निरीक्षक भुपेन्द्र थापा र विवेक भट्टराईको कमाण्डमा प्रहरी टोली तथा निकुञ्जका रेन्जरसहित ५० जनाको संयुक्त टोली खटिएको छ। ‘घटनाको थप अनुसन्धान र बाँकी मानिसहरूको खोजीकार्य जारी रहेको प्रहरी नायव उपरीक्षक बुढ्थापाले जानकारी दिए।




