काठमाडौँ- फागुन २१ को निर्वाचनबाट संसद्मा युवा पंक्तिको प्रतिनिधित्व बढेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा मकवानपुर २ बाट निर्वाचित २५ वर्षका प्रशान्त उप्रेती सम्भवत: सबैभन्दा कान्छा सांसद हुन् भने ७८ वर्षीय अर्जननरसिंह केसी सबैभन्दा पाका सांसद हुन्। यसैगरी ९५ जना सांसद ४० वर्षमुनिका छन्। तिनमा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का ८२ र विपक्षी दलका १३ जना छन्। संसद् बैठकलाई प्रभावकारी बनाउन प्रतिपक्षले रचनात्मक भूमिका खेल्नुपर्छ। ‘सरकार सत्तापक्षको, संसद् प्रतिपक्षको’ भन्ने भनाइ नै छ।
विपक्षी सांसदमा कांग्रेसका पाँच, एमालेका चार, राप्रपाका दुई र श्रम संस्कृति पार्टीका दुई जना सांसद छन्। उमेरका हिसाबले नेकपामा सबै ४० वर्षमाथिका छन्। कस्ता छन् त प्रतिपक्षमा सशक्त आवाज उठाउन तम्तयार ४० वर्षमुनिका सांसद :
नेपाली कांग्रेस
कम्युनिस्ट किल्ला भत्काएका निस्कल
देशभर रास्वपाको लहर चल्दा इलाममा भने बेग्लै प्रवृत्ति देखियो। अरूतिर सानदार मत ल्याएको रास्वपा इलाममा प्रतिस्पर्धामै आउन सकेन। यही कारण यहाँ पुराना दलकै वर्चस्व रह्यो। इलाम १ मा कांग्रेसका निस्कल राई निर्वाचित भए। निस्कल इलामका लागि परिचित नाम हो। उनी लामो समयदेखि समाजसेवामा सक्रिय छन्। साथै कांग्रेसभित्र भिजेका पात्र हुन्। उनी कांग्रेसका क्षेत्रीय सभापति छन्। रोचकचाहिँ के भयो भने लामो समय कम्युनिस्ट किल्ला रहेको इलाम १ मा उनै निस्कल उदाए।

यस क्षेत्रमा २०५१ सालको मध्यावधिमा तत्कालीन एमाले नेता झलनाथ खनाललाई पराजित गर्दै कांग्रेसका बेनुपराज प्रसाईँ निर्वाचित भएका थिए। त्यसपछि कुनै गैरकम्युनिस्ट नेता चुनिन सकेका थिएनन्। यही क्षेत्रबाट प्रतिनिधित्व गरेका झलनाथ प्रधानमन्त्री र पार्टी अध्यक्ष बने। यसअघिको चुनावमा पनि एमालेकै महेश बस्नेत निर्वाचित भए। यसपटक झलनाथ र महेश प्रतिस्पर्धामै आएनन्। यही मौकामा कांग्रेसबाट टिकट पाएका निस्कल निर्वाचित भए।
अर्थशास्त्रमा स्नातक निस्कलले प्रतिनिधिसभामा अब्बल प्रतिपक्षीको भूमिका निर्वाह गर्ने देखिन्छ । ‘हामीले सरकारलाई खबरदारी गर्ने हो। रचनात्मक तरिकाले कुरा उठाउने हो,’ निस्कल भन्छन्। निस्कल सत्तापक्षले प्रतिपक्षीलाई पनि ठाउँ दिनेमा ढुक्क छन्।
हजुरबाबाट राजनीतिक सिकेकी रेनुका
रेनुका काउचाको व्यस्तता बढेको छ। राजनीति र अध्ययन सँगै अघि बढाएकी बिहान अध्ययनका लागि अनलाइन कक्षा लिन्छिन् भने दिउँसो राजनीतिक भेटघाटमा सक्रिय हुने गरेकी छन्।
‘म एमफिल गर्दै छु। बिहान क्लास लिनैपर्छ। समय हुन्न,’ कांग्रेसकी समानुपातिक सांसद रेनुकाले भनिन्, ‘दिउँसो मात्र भेटघाट गर्न पाउँछु।’ एलएलबी र व्यवस्थापनमा स्नातकोत्तर रेनुका मानवशास्त्रमा एमफिल गर्दै छिन्। सांसद भए पनि पढाइ अघि बढाउनुपर्ने बाध्यता उनमा छ।
‘मलाई मानवशास्त्र पहिलैदेखि मन पर्ने विषय भएकाले पहिले व्यवस्थापन गरे पनि अहिले यही लिएको हो’, ३९ वर्षीया उनले भनिन्। त्यसो त, यसअघि चुनाव प्रचारमा रहँदा पढाइ छुट्यो। ‘आफूलाई मन लागेको कुरा पढौँ भन्ने लाग्छ। एमफिल चाहिँ गर्दैछु’, उनी भन्छिन्। कानुनको पढाइले उनलाई यसअघि बागलुङ गलकोट नगरपालिकाको उपप्रमुख हुँदा सहयोग गरेको थियो।

‘उपप्रमुखले न्यायिक काम बढी गर्नुपथ्र्यो। मैले कानुन जानेको भएर राम्रो भूमिका निर्वाह गरेँ’, रेनुका भन्छिन्। प्रतिपक्षी भूमिकामा पुगेको कांग्रेसको साख जोगाउन सदनमा सशक्त खबरदारी गर्ने योजना उनको छ। ‘सदनमा विरोध मात्र गर्नुपर्छ भन्ने लाग्दैन। हामी रणनीतिक कदम चाल्छौँ’, उनी भन्छिन्। २०७४ मा उपप्रमुख बनेकी उनलाई यसपटक समानुपातिकमा सदन छिर्ने मौका मिल्यो। उनी आदिवासी कोटामा परेर सांसद बनेकी हुन्।
उनी सांसद बन्न पाउनुको कारण राजनीतिक विरासत र निरन्तरको प्रयत्न हो। ‘म सानैबाट कांग्रेसमा क्रियाशील छु। मगर संघमा पनि काम गरेकी छु’, उनी भन्छिन्। कांग्रेस भ्रातृ संगठन नेपाल मगर संघको अध्यक्ष भइसकेकी रेनुका पार्टीको महाधिवेशन प्रतिनिधि पनि हुन्। ‘मैले महिला संघमा समेत काम गरेकी छु। आदिवासी जनजाति महासंघको त कोषाध्यक्ष बनेकी थिएँ’, उनी भन्छिन्। सरस्वती क्याम्पसमा पढ्दा उनी स्ववियु कोषाध्यक्ष थिइन्।
विगतमा जस्तै आफूलाई प्रमाणित गर्नुपर्ने समय आएको उनको भनाइ छ। उनको परिवार तीन पुस्तादेखि कांग्रेस राजनीतिमा सक्रिय छ। हजुरबा बागलुङमा मुखिया थिए। पछि कांग्रेसको संस्थापक जिल्ला सभापति बने।
मेरो मार्गप्रदर्शक हजुरबा र हजुरआमा हो’, उनले भनिन्। रेनुकाकी हजुरआमाले राजनीति गरिनन्। तर हजुरआमाले हजुरबाको राजनीति नजिकबाट बुझिन्। ‘म उपमेयर बन्दा पनि हजुरआमाले पद पाउन सजिलो तर काम गर्न गाह्रो छ भन्नुभएको थियो’, उनले भनिन्, अहिलेसम्म जति भएको छ, परिवारकै सहयोगले भएको छ।’
डडेलधुराबाट उदाइन् हरिना
लामो समय कांग्रेस र देशकै नेतृत्व गरेका शेरबहादुर देउवा यसपटक संसदीय राजनीतिमा रोकिए। २०४८ यताका सबै संसदीय चुनावमा अविचलित र अपराजित देउवा चुनाव लडेनन्। उनी चुनावमा नेपालमै थिएनन्। ‘उहाँको स्वास्थ्य समस्या भएकाले चुनावका बेला उपस्थित हुन सक्नुभएन,’ नेपाली कांग्रेस डडेलधुराका सचिव हेमराज चटौत भन्छन्, ‘उहाँ(देउवा)को उपस्थिति मात्र भएको भए पनि चुनाव जितिन्थ्यो।’ देउवाको उत्तराधिकारीका रूपमा चुनाव लडेका कांग्रेस नेता नैनसिंह महर पराजित भए।

डडेलधुरामा कांग्रेसले हारे पनि विरासत भने ढलेको छैन। किनभने ३७ वर्षीया हरिनादेवी कामीले यहीँबाट समानुपातितर्फबाट प्रतिनिधित्व गरेकी छन्। दलित कोटाबाट समानुपातिकमा परेकी उनी अब सदनमा आफू निरन्तर खबरदारी गर्ने बताउँछिन्।
‘हाम्रो भूमिका प्रतिपक्षमा पुगेको छ। ठूलै सरकार भए पनि हाम्रो भूमिका कमजोर हुँदैन,’ हरिना भन्छिन्। हरिनासँग जनप्रतिनिधि बनेको अनुभव छ। उनी २०७४ को निर्वाचनमा परशुराम नगरपालिकामा कार्यपालिका सदस्य थिइन्। ‘मैले त्यस बेला पनि महिलामुखी काम गरेँ। नगरवासीको भावनाअनुसार काम गर्ने हो’, उनी भन्छिन्।
हरिना कांग्रेसको महाधिवेशन प्रतिनिधि र तरुण दलको केन्द्रीय सदस्य छिन्। ‘उहाँले नगरमा रहेर पनि राम्रै काम गर्नुभएको थियो। सोही कारण संघीय सांसदमा पनि हामीले त्यस्तै अपेक्ष गरेका छौँ’, कांग्रेस जिल्ला सचिव चटौत भन्छन्।
गौचनले थामेको बिँडो
मुस्ताङका ३२ वर्षीय योगेश गौचन पनि यसपटक प्रतिपक्षी भूमिकामा सदनमा देखिने छन्। तर उनका लागि नौलो भूमिका होइन। यसअघि पनि उनी प्रतिनिधिसभा सदस्य थिए। देशभर कांग्रेसको उपस्थिति कमजोर हुँदा गौचनले मुस्ताङबाट दोस्रोपटक चुनाव जिते। ‘हामीलाई कम मत आएको छ। तर हामी कमजोर छैनौँ,’ गौचन भन्छन्।
उनको परिवारकै राजनीतिक विरासत छ। उनी पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। रोमी अहिले कांग्रेस मुस्ताङका सभापति छन्। कांग्रेसको केन्द्रीय नेतृत्वमा परिवर्तन भएर कतिपय उम्मेदवार टिकटबाट वञ्चित भए तर मुस्ताङको राजनीति उस्तै रह्यो। यसअघि पटकपटक आफ्ना बुवा रोमीले जितेको ठाउँमा योगेशले जिते। यसरी जित्नुको पछाडि मुस्ताङमा गौचन परिवारले विकासका काम गरेका छन्।

‘यहाँका जनताको भावना बुझेर काम भएको छ,’ कांग्रेस मुस्ताङका नेता नोम्डु गुरुङ भन्छन्, ‘हाम्रा जनता विकास चाहन्छन्। अहिलेसम्म विकास नभएकोमा असन्तुष्टि छ।’ हिमालपारिको जिल्ला मुस्ताङमा व्यापार-पर्यटनको पर्याप्त सम्भावना छ। ‘यहाँको कोरला नाका खुलोस् भन्ने अपेक्षा जनताको छ। यताको सामान उता लैजान पाइन्छ। उताको यता ल्याउन पाइन्न’, नोम्डु भन्छन्, ‘बाटो पिच होस् भन्ने जनताको चाहना छ। व्यवसाय फट्याउन सरकारले सहयोग गरोस् भन्ने अपेक्षा छ।’
नोम्डुका अनुसार अब सांसदले पनि प्रतिनिधिसभामार्फत यिनै कुरा उठाउन् भन्ने अपेक्षा जनताको छ। विकासले पछि परेको मुस्ताङलाई पनि सरकारले देखोस् भन्ने अपेक्षा रहेको उनी सुनाउँछन्। योगेश यी कुरामा सचेत छन्। जनतासमक्ष मत माग्दासमेत उनले यस्तै कुरामा प्रतिबद्धता जनाएका थिए।
नेपाली कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी पार्टीभित्र पनि युवा पुस्ताको आशालाग्दा अनुहार मानिन्छन्।
कांग्रेसकी कान्छी सांसद गीता गुरुङ
३० वर्षीया गीता गुरुङ यसपल्ट कांग्रेसकी कान्छी सांसदका रूपमा संसद् छिर्दै छिन्। उमेर कम भए पनि गीताको राजनीतिक झुकाव लामो समयदेखि छ। उनी विद्यालय तहदेखि कांग्रेसका कार्यक्रममा उपस्थिति जनाउँथिन्। कक्षा १० सम्म जिल्लामै अध्ययन गरेकी गीता उच्च शिक्षाका लागि काठमाडौँ आइन्। उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट विज्ञान विषयमा स्नातक गरिन्।
त्रिचन्द्र गएपछि भने गीताको राजनीतिक चेत र आकांक्षाले एउटा लय समात्यो। स्कुले जीवनमै नेविसंघको एकाइ सभापति बनिसकेकाले पनि उनमा विद्यार्थी राजनीतिप्रतिको आकांक्षा बढिरहेको थियो।
नेविसंघको कार्यकर्ता भएको हिसाबले त्रिचन्द्र क्याम्पसमा विद्यार्थीका समस्या उठान गर्ने र समाधान गर्नेतर्फ उनका अभियान अघि बढ्न थाले। बिस्तारै उनी उपत्यकाका जिल्लामा संगठन निर्माण गर्दै सोलुखुम्बुमा पहिचान बनाउन र संगठन बनाउनतिर लागिन्।

२०७९ सालको निर्वाचनसम्म आइपुग्दा गीता गुरुङ कांग्रेस नेत्रीका रूपमा परिचित भइसकेकी थिइन्। त्यही पहिचानले उनलाई २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार बनायो।
प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक गरी तीन जना सांसद सोलुखुम्बुबाट निर्वाचित छन्। तीन सांसदमध्ये आदिवासी जनजाति क्लस्टरबाट सांसद बनेकी हुन् गीता। पछिल्लो समय कांग्रेसको घटेको मत र साख दुवैलाई जोगाउने र बढाउने दायित्व उनमा छ। त्योभन्दा महत्वपूर्ण जिल्लाको समग्र विकास निर्माणको खाका बनाउने र नीतिगत व्यवस्था गर्ने जिम्मेवारी पनि।
नेविसंघको पहिलो महिला अध्यक्ष बन्ने हुटहुटीसहित संगठन विस्तारका लागि देशभर पुगिन् गीता। समयमा अधिवेशन नहुने समस्याका कारण उनको तयारी विफल भयो। नेविसंघको नेतृत्व गर्ने अवसर नपाए पनि उनका सामु सम्भावनाको नयाँ ढोका खुलेको छ। संसदीय राजनीतिमा उनी सिकारु हुन्। तथापि, युवा र हिमाली क्षेत्रको आवाजलाई संसद्सम्म पुर्याउने पर्याप्त आत्मविश्वास उनमा देखिन्छ। संसद् भवन छिर्दै गर्दा उनी अनुभवको लामो फेहरिस्त होइन, उत्साह बोकेर आएकी छन्।
गीता सदनमा नागरिकको आवाजलाई विशेषतः युवा महिलाको प्रतिनिधित्व हुने हिसाबले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँछिन्।
पहिलेजस्तो सडक बनाइदिन्छु, पुल बनाइदिन्छु, बिजुली ल्याइदिन्छु भनेर मात्र भोट पाइने स्थिति नरहेको उनको बुझाइ छ। युवालाई देशमै अड्याउने र ग्रामीण उत्पादन वृद्धि कसरी गर्ने भन्ने विषयमा केन्द्रित हुने उनले बताइन्। सोलुखुम्बुले जलवायु परिवर्तनका कारण ठूलो असर झेलिरहेको छ। यसलाई पनि संसद्मा प्रभावकारी ढंगमा उठाउने गीताको योजना छ।
सोलुखुम्बुमा सानदार मत ल्याएर प्रकाशसिंह कार्की निर्वाचित बने। लामो समयदेखि संसदीय राजनीतिमा रहेका बलबहादुर केसीले चुनाव नलड्ने घोषणा गर्दा कांग्रेस कमजोर होला कि भन्ने थियो। तर कांग्रेसले प्रत्यक्षमा मात्र नभई समानुपातिकमा पनि सांसद पायो।
एमाले
युवा आन्दोलनबाट उदाएका क्षितिज
कम्युनिस्ट आन्दोलनमा सुनिएको नाम हो, क्षितिज थेवे। एमाले निकट युवा संघ नेपालको एकपटक महासचिव र दुई पटक अध्यक्ष भएर संगठन हाँकेका क्षितिज यसपटक प्रतिनिधिसभाको उम्मेदवार बन्नेमै अन्योल थियो।
ताप्लेजुङका क्षितिजका अगाडि अर्का विरासत बोकेका नेता योगेश भट्टराईको नाम थियो। भट्टराई एमाले उपमहासचिव र यसअघि दुई पटक ताप्लेजुङबाटै जितेका प्रतिनिधि भएकाले स्वतः दाबेदार थिए। पार्टीले क्षितिजलाई टिकट दियो। एमालेले ताप्लेजुङका जनमानस र क्षितिजको उदाउँदो राजनीति हेरेर टिकट दिएको थियो। क्षितिजले युवा संघको नेतृत्वमा रहँदा गरेका काम प्रशंसायोग्य थिए। कहिले ओली कप गरेर त कहिले युवा महोत्सव चलाएर क्षितिजले नेतृत्व र जनताको मन जितेका थिए। ‘क्षितिज चुनावमैत्री मान्छे हो’, एमालेका युवा नेता दिनेश ढकाल भन्छन्, ‘उसलाई चुनावको हावा कसरी बहन्छ भन्ने कुरा राम्ररी थाहा हुन्छ।’
पहिलो पटक युवासंघको अध्यक्ष हुँदा पनि क्षितिज नेतृत्वको रोजाइमा परेका थिए। दोस्रो पटक उनी अध्यक्षका आकांक्षी थिएनन्। ताप्लेजुङबाटै अध्यक्ष नबन्ने भन्दाभन्दै साविक दोस्रो पदका नेताहरूको टकरावको फाइदा उठाउँदै नेतृत्वमा पुग्न सफल भए। उनले युवा संघको महाधिवेशनकाक्रममा केही समय अध्यक्ष बन्ने र महाराज गुरुङलाई हस्तान्तरण गर्ने सहमति गरेका थिए। उनको टिमबाट महाराज अध्यक्षका आकांक्षी थिए। तर नेतृत्वले क्षितिजलाई ‘सिग्नल’ दिएपछि महाराज उपाध्यक्ष बसे। त्यही सहमतिअनुसार क्षितिजले प्रतिनिधिसभा लड्नुपूर्व पद छाडेका हुन्।

अहिले महाराज अध्यक्ष छन्। क्षितिज पदविहीन बन्नुपरेन। सांगठनिक फाँट सम्हालेका उनलाई अब संसदीय फाँटको जिम्मेवारी दिइँदै छ। यसपटकको चुनावमा एमालेका अधिकांश नेताहरू पराजित भए। उत्तर पूर्वी जिल्लाका क्षितिज भने पार्टीको साख जोगाएर प्रतिनिधिसभामा पस्दै छन्। ‘कठिन परिस्थितिमा चुनाव जितियो। अब जनताले भनेबमोजिमका काम गर्ने हो,’ थेबेले हिमालप्रेससँग भने, ‘आफूले गर्दा प्रतिज्ञा त पूरा गर्नु नै छ। प्रतिपक्षको भूमिका पनि निर्वाह गरिनेछ।’ अहिले क्षितिज ताप्लेजुङमै व्यस्त छन्। ३८ वर्षीय क्षितिज अब सुन्दर र रचनात्मक भूमिका निर्वाह गर्र्दै खबरदारी गर्ने बताउँछन्।
थेवेको परिवार पनि राजनीतिक हो। आमा उर्मिला यसअघि समानुपातिकबाट सांसद भएकी थिइन्। बुबा भूपेन्द्र थेबे दोस्रो प्रतिनिधिसभा सदस्य निर्वाचन २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए। बाबुछोरा दुवैले प्रत्यक्ष निर्वाचनबाट निर्वाचित सांसदका रूपमा आफ्नो नाम लेखाएका छन्। क्षितिजको परिवारको राजनीतिक यात्रा यतिमा मात्रै सीमित रहँदैन। उनका बाजे र जिजुबाजे पनि राजनीतिकर्मी थिए।
क्षितिजका बाजे (हजुरबुबा) मनप्रसाद २०२४ देखि ३२ सालसम्म सिनाम गाउँ पञ्चायतको प्रधानपञ्च भए। जिजुबुबा भीमबहादुर २०१७ देखि २४ सालसम्म लगातार प्रधानपञ्च बने। यसपटक क्षितिजले कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई दुई हजार २५१ मतान्तरले पराजित गरे। क्षितिजले १३ हजार ९६२ मत प्राप्त गर्दा तुम्याहाङले ११ हजार ७११ मत पाएका थिए। ‘संगठनमा उल्लेखनीय भूमिका निर्वाह गरेका व्यक्ति हुन्। त्यही किसिमको भूमिका संसद्मा निर्वाह गर्ने आशा छ’, युवा संघका प्रवक्ता निरोज पौड्याल भन्छन्।
कानुन पढेका सुहाङको निरन्तर दोस्रो पटक संसद्मा
३६ वर्षका सुहाङ नेम्बाङ प्रतिनिधिसभाका लागि नौलो नाम होइन। विघटित प्रतिनिधिसभामा १६ महिनाको अनुभवसहित प्रतिनिधिसभा टेक्दै छन्, सुहाङ। पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा सुहाङलाई अवसर दिइएको थियो।
लामो समयदेखि इलाम-२ बाट प्रतिनिधित्व गरेका सुवासको स्थानमा चुनाव लड्नुपर्ने बाध्यता सुहाङलाई थियो। एकातिर बुवाको शोकको घडी र अर्कातिर चुनिनुपर्ने बाध्यता उनीमा थियो। उनी शोकलाई शक्तिमा रूपान्तरण गर्दै निर्वाचित भए।
उपनिर्वाचनमार्फत सुवासको बिँडो धान्दै संसद् भवन पसे पनि अनुभव लामो रहेन। जेनजी आन्दोलनका कारण संसद् विघटन भएपछि सुहाङ फेरि जनतामाझ अनुमोदिन हुन इलाम २ पुग्नुपर्यो।

उपनिर्वाचनमा बुवा सुवास नेम्वाङसँगै चुनाव हारेका कांग्रेसका डम्बर खड्का प्रतिस्पर्धी थिए भने यसपटकको चुनावमा पनि कुनै बेला सुवाङसँगै पराजित भेषराज आचार्य सुहाङसँग प्रतिद्वन्द्वी थिए। सुहाङले दुवैलाई जिते। एमालेका लागि विषम परिस्थिति मानिएको यसपटकको चुनाव सुहाङले जित्दै गर्दा इलामका जनताले पनि धेरै आस गरेका छन्।
एमालेका पदाधिकारी र अधिकांश शीर्ष नेता हार्दै गर्दा सुहाङ संसदीय मामिलामा काबिल मानिएका छन्। त्यसैले पनि इलामे जनताले उनलाई संसदीय दलको नेताका रूपमा देख्न खोजेका छन्। ‘सुहाङ धेरै कुरामा अब्बल छन्। संसदीय दलको नेता एमालेले दिनुपर्छ’, एमाले इलामका नेता ठाकुरनारायण श्रेष्ठ भन्छन्।
यसअघि कमै समय किन नहोस्, सुहाङले आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन्। सदनमा सत्तापक्ष र विपक्षबीच गालीको वर्षात् चल्दा सुहाङ ‘समझदारी गर्नुपर्छ’ भन्दै मध्यस्थ बन्थे। यही उनको गुणले इलामबाट फेरि उदाउने मौका पाए। उपनिर्वाचनमा चुनाव जित्दा बुवा सुवासको सदासयताले जितेको भाष्य अहिले टुटेको छ। उनले सदनमा दिएका अभिव्यक्ति र इलामे भूगोलसँग गरेका कामले उनलाई चिनाएको छ। यही कारण पनि सुहाङ सदन छिरेका हुन्। सुहाङ निकट नेताहरू एमालेले नदिए पनि प्रतिस्पर्धा मात्रै पनि गर्ने बताउँछन्। ‘सुहाङले अरू कसैलाई छाड्दैन। संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्छ’, उनी निकट नेताहरू भन्छन्।
एमालेले समानुपातिकतर्फ परेका एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई नेता बनाउने तयारी गरेको छ। यसबारे सुहाङ मौन छन्। उनी अबको संसद्को कार्यशैली र आफूले राख्नुपर्ने धारणाबारे बुझ्दै गरेको बताउँछन्। ‘सदनमा उठेका सबै कुराको विरोध गरेर हुँदैन। सही कुरा छन् भने समर्थन पनि गर्नुपर्छ,’ हिमालप्रेससँग सुहाङ भन्छन्, ‘गलत भए रचनात्मक तरिकाले आवाज उठाउनुपर्छ।’ सुहाङ विगतमा जस्तो रोस्टम घेराउ गरेर र सत्तापक्षको काम बिथोलेर मात्र नहुने बताउँछन्।
‘म हामी प्रतिपक्षीले पनि भिन्न शैली अपनाउनुपर्छ। सबै कुरामा पुरानो ढर्राभन्दा नयाँ बनाउनुपर्छ’, सुहाङ भन्छन्। सुवासकै बाटो लिएका सुहाङ कानुनका विद्यार्थी हुन्। यसैले पनि कानुनी हिसाबमा सुहाङ अब्बल गनिएका छन्।
वडा सदस्यबाट संसद्मा पुगिन् निता घतानी
२०७४ को स्थानीय तहको निर्वाचनमा वडा सदस्य जितेर कार्यापालिकासम्म पुगेकी नेत्रृ हुन्, निता घतानी। झापाको बिर्तामोड नगरपालिकामा उनी एमालेबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। तर त्यसको आठ वर्ष बित्दै गर्दा निता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्। उनी पार्टी संगठनमा लामो समयदेखि सक्रिय छिन्।
‘हाम्रो समुदायका व्यक्तिले सहजै पद पाउँछन् भन्ने बुझिन्छ तर म भने पार्टी/संगठनमा धेरै खटिएकी व्यक्ति हुँ,’ हिमालप्रेससँग ३७ वर्षीया निताले भनिन्, ‘चाहे अखिलमा होस् वा पार्टी(एमाले) मा निरन्तर म सक्रिय रहेँ।’
निता एमालेको दलित महिला कोटाबाट समानुपातिक सांसद भएकी हुन्। यसअघि उनी लामो समय एमाले निकट अखिलको राजनीतिमा थिइन्। ‘म जिल्ला सदस्यदेखि केन्द्रसम्म पुगेँ। सबै पदाधिकारीमा काम गरेको अनुभव छ। अघिल्लो कार्यकालपछि संगठनको राजनीति छाडेँ,’ निता थप्छिन्, ‘संगठनमा लामो काम गरियो। अब पार्टीमा सक्रिय रहन्छु।’

पार्टीमा पनि उनले वडा तहबाटै काम गरेकी हुन्। पार्टीको दसौँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भइन्। एमाले केन्द्रीय सदस्यसमेत रहेकी नितालाई अब संसद्मा प्रतिपक्षीको भूमिका गर्नुछ।
‘बाहिर धेरै काम गरियो। अब संसद्मा निरन्तर त्यो प्रस्तुत देखाउनु छ,’ उनी भन्छिन्, ‘सबैभन्दा मुख्य कुरा त देशको मामिला हो। देशमाथि गद्दारी गर्न खोजिए, आवाज जोडदार उठाइन्छ।’ स्नातकसम्म अध्ययन गरेकी निता जुनसुकै संसदीय भूमिका खेल्न तत्पर रहेको बताउँछिन्।
‘मैले अहिलेसम्म सोचेको छैन। तर जिम्मेवारी आए पूरा गर्न तयार छु’, उनी थप्छिन्। निताले सक्रिय राजनीति गरेको झन्डै दुई दशक भयो। उनमा राजनीतिक सुझबुझ त छँदै छ। ‘निता संसद् बन्नका लागि उपयुक्त नेत्री हुन्। उनले आफ्नो मात्र होइन सबै समुदायको कुरा राम्ररी राख्न सक्छिन्’, झापाकी एमाले नेत्रृ मुना तिवारी भन्छिन्, ‘अध्ययन र सक्रियताले नै नितालाई त्यो पदसम्म पुर्याएको हो। यसपटक संसदमा अझै सक्रियता बढाऊन् भन्ने अपेक्षा छ।’
बडेमान कर्णालीका दुःख सुनाउन उत्सुक यशुदाकुमारी बराल
एमालेकी कान्छी सांसद हुन् ३४ वर्षीया यशुदाकुमारी बराल। एमालेले अपांगता कोटाबाट उनलाई समानुपातिकमा स्थान दिएको छ। यही मौकामा उनी ‘बडेमान कर्णालीका दुःख’ सुनाउने प्रयत्नमा छन्। ‘हाम्रा पीडा बेग्लै छ। विकास नभएको समस्या त छँदै छ। हाम्रोमा विशाल समस्या छ’, यशुदा भन्छिन्।
यसपटक यशुदा प्रसूतिले ज्यान गुमाउनुपरेको पीडा संसद्मा पोख्नेछिन् भने आफ्नो क्षेत्रमा अस्पताल नबन्नुको कारण सोध्ने योजनामा छिन्। यशुदा आफैँ पनि सबै समस्या झेलेकी नेत्रृ हुन्। चार वर्षको उमेरमा ढुंगाले च्यापिएको ‘घाउ’ अझै बाँकी छ। ‘ठूलो ढुंगाले च्यापिएर मेरो दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो। गाउँमा समयमै उचित उपचारको व्यवस्था नभएकाले मेरो त्यो खुट्टा केही छोटो र कमजोर हुन पुग्यो,’ उनी भन्छिन्, ‘म नौ महिनापछि उपचारका लागि काठमाडौँ गएँ तर उपचार सम्भव भएन।’ यही कारण उनी अपांग भइन्।

अपांगता भए पनि उनको अध्ययन र राजनीतिक लगाव रोकिएन। विद्यालय स्तरबाटै उनी एमाले निकट अखिलमा जोडिइन्। १३ वर्षमै स्कुल कमिटी हाँकेकी यशुदा त्यतिबेलै जिल्ला कमिटीमा परिन्। ‘कालिकोटको बडिमालिका माध्यमिक विद्यालयबाट भएको हो। कक्षा आठमा अध्ययन गर्दै गर्दा म अनेरास्ववियु विद्यालय कमिटीको अध्यक्ष बन्ने अवसर पाएँ। त्यहीँबाट मेरो राजनीतिक जीवनको औपचारिक थालनी भएको हो’, उनी भन्छिन्।
उनी अखिलको केन्द्रीय सदस्यसम्म बनिन्। युवा संघको केन्द्रीय सदस्य र हाल अनेमसंघको केन्द्रीय सदस्य छन्।
‘अठार वर्षअघि म आफ्नो जीवनको सपना बोकेर एक्लै काठमाडौं आएकी थिएँ। धेरै कुरा मेरो लागि नयाँ थियो। न यहाँ कोही चिनेको मान्छे थियो, न कुनै नजिकको साथी। नयाँ सहर, नयाँ वातावरण र अपरिचित ठाउँ सुरुमा निकै अनौठो र कठिन लाग्थ्यो। तर दृढ आत्मबल र ठूलो सपना बोकेर म हरेक चुनौतीसँग जुध्दै अघि बढेँ र यहाँका अनुभवहरूबाट धेरै कुरा सिक्दै गएँ’, उनी भन्छिन्,‘ काठमाडौंमा रहँदै मैले नेपाल कमर्स क्याम्पसबाट स्नातक अध्ययन पूरा गरें र त्यसपछि त्यही क्याम्पसबाट स्नातकोत्तर तहको अध्ययन पनि सफलतापूर्वक सम्पन्न गरेँ।’
यशोदा व्यवसायी पनि हुन्। कुनै बेला आफ्नो खर्च रकम जुटाउन उनले सामान्य पसल गर्ने गरेकी थिइन्। त्यही पसल अहिले स्टल बनेको छ। ‘काठमाडौंमा बस्दाको पढाइ खर्च चलाउन भृकुटीमण्डपमा सानो स्टल राखेर कपडाको पसल सञ्चालन गर्दै आएकी छु। त्यही सानो व्यवसायबाट आफ्नो जीवन गुजारा चलाउने, परिवारलाई सहयोग गर्ने र संघर्षपूर्ण जीवनलाई निरन्तर अगाडि बढाउने प्रयास गर्दै आएकी छु’, उनी भन्छिन्।
राप्रपा
ज्ञानबहादुर संसदीय दलका नेता
जुम्लाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विगत पाँच वर्षदेखि राजनीतमा सक्रिय छन्। उनले प्रतिनिधिसभा सदस्यमा जुम्लाबाट दोस्रो पटक चुनाव जितेका हुन्। विगतको सदनमै ज्ञानेन्द्रले आफ्नो परिचय दिइसकेका छन्। राप्रपा प्रतिपक्षमा हुँदा ज्ञानेन्द्रले मुख्य भूमिका निर्वाह गरे। राप्रपाबाट प्रत्यक्ष चुनाव जित्ने एक्लो नेता उनै हुन्। राप्रपाले उनलाई संसदीय दलको नेताको भूमिकामा लगेको छ।

२०७८ सालमा राप्रपा प्रवेश गरेका उनले पार्टी प्रवक्ताको जिम्मेवारीमा रहिसकेका छन्। ‘यसपटक ठूलो सदन भएकाले हामीले निरन्तर खबरदारी गर्नुछ। त्यही कारण अब युवालाई सदनको जिम्मेवारी दिएका छौँ’, ज्ञानेन्द्रलाई संसदीय दलको नेता बनाउँदै गर्दा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए। राप्रपाले ३४ वर्षीय ज्ञानेन्द्रलाई दलको नेता बनाउँदा प्रमुख सचेतकका रूपमा ३५ वर्षीय खुस्बु ओलीलाई अघि सारेको छ। ‘युवालाई प्राथमिकता दिएको हो। अब राप्रपाले मात्रै पनि प्रतिपक्षी भूमिका निर्वाह गर्छ’, प्रवक्ता मोहन श्रेष्ठ भन्छन्।
राप्रपाको जनमत गिर्दो छ। यसअघि १४ सिट जितेको राप्रपाले अहिले पाँच सिटमा झरेको छ। यही साख जोगाउने जिम्मा शाहीको काँधमा छ। राप्रपाको एजेन्डा पनि अन्य दलको भन्दा भिन्न छ।
कसरी प्रस्तुत होलिन् खुस्बु?
खुस्बु ओली झापाकी बासिन्दा र एमाले अध्यक्ष केपी शर्मा ओलीकी नातेदार हुन्। अध्यक्ष ओलीकै दबदबाका कारण झापामा खुस्बुको परिवार एमाले राजनीतिबाट किनारामा पारियो।
खुस्वुका बुवा लामो समयदेखि एमालेबाट राजनीति गरेका थिए। तर उनलाई एमालेले उचित स्थान नै दिएन। बुवाको राजनीतिलाई नजिकबाट बुझेकी खुस्बु पनि राप्रपाबाट राजनीति गर्ने योजना बनाइन्।
त्यही कारण उनी राप्रपामा प्रवेश गरिन्। `मैले पहिलो सदस्यता लिएको पार्टी राप्रपा नै हो। त्यसअघि विभिन्न अभियानमा थिए।´खुस्बु भन्छिन्।
छोटो समयमै खुस्बुले आफूलाई राप्रपामा औँलामा गन्न सकिने नेतामा उभ्याइन्। सोही कारण समानुपातिक सांसद बन्न सफल भइन्।
खसआर्य कोटाबाट सांसद बनेकी ३५ वर्षीया खुस्बु समानुपातिकमा पर्दा पार्टीभित्र अनेक असन्तुष्टि थिए। यसले गर्दा पनि आफूलाई दबाब रहेको उनी बताउँछिन्।

‘मैले धेरै कुरा सिक्नु छ। म अहिले पनि संसद्मा प्रतिनिधित्व गर्नुभएका विभिन्न व्यक्तिहरूलाई भेटिरहेकी छु,’ खुस्बुले भनिन्। उनी रचनात्मक तरिकाले सदन अघि बढाउनुपर्छ भन्ने कुरामा सजग छिन्। ‘सत्तापक्षसँग पनि सहकार्य गरेर जानुपर्छ। पहिले जस्तो सदन अब रहन्न। हामीले पनि सत्तापक्षलाई सहयोग गर्ने हो’, खुस्वु भन्छिन्।
पहिलो पटक सदन छिरेकी खुस्बु धेरै जिम्मेवारीबोध गराएको बताउँछन्। ‘सरकारले सत्तापक्ष र प्रतिपक्षलाई समान तरिकाले हेर्नुपर्छ। हामी सरकारको काम हेरेर सुझाव दिन्छौँ’, उनी भन्छिन्। खुस्बु राप्रपा संसदीय दलको प्रमुख सचेतकसमेत बनेकी छन्।
खुस्बु भाषण गर्न सिपालु छिन्। आन्दोलनमा आफ्नो पहिरनबाट खबरदारी गर्नु उनको विशेषता हो। यसअघि जेनजीको प्रतिबिम्बित साडी लगाउँदा पनि उनको चर्चा भएको थियो।
श्रम संस्कृति
‘माटो’ को महत्त्व बुझाउँदै आरएन
खोटाङमा यसपटक श्रम संस्कृतिका पार्टीका आरएन राई निर्वाचित भए। ३० वर्षीय आरएन चुनाव जित्न सहज नभएको बताउँछन्। श्रम संस्कृति पार्टी निर्वाचनको चार महिनाअघि अर्थात् कात्तिक दोस्रो साता निर्वाचन आयोगमा पहिलोपटक दर्ता भएको थियो।
आरएन सदनमा आफ्नो, जिल्लाको र ‘माटो’ को विचार राख्ने योजनामा छन्। ‘हामी नयाँ पार्टीको नेता हौँ। जनताले हामीबाट धेरै अपेक्षा गरेका छन्। हामी सदनमा निरन्तर आफ्ना कुरा राख्छौँ,’ आरएनले हिमालप्रेससँग भने, ‘हामी अरू धेरै कुरा जान्दैनौँ। राष्ट्र र राष्ट्रियतामाथि आँच आउने काम भए सशक्त प्रतिपक्षी बन्नेछौँ।’

माटो चुनाव चिह्नबाटै जितेका उनी राष्ट्रियतामा आफ्नो आवाज नडगमगाउने बताउँछन्। उनी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका महासचिव हुन्। उनले आफू मात्र नभई अन्य सांसदलाई पनि जिम्मेवारी सदनमा दिनुपर्ने हुन्छ। ‘हामी सबैले सल्लाह गरेर अघि बढ्छौँ। सत्तापक्षले सुन्ने गरी कुरा राख्छौँ’, आरएन थप्छन्। आरएन यसअघि पनि कामले चिनिएका पात्र हुन्। उनी कुनै बेला राष्ट्रवादी पार्टीमा आबद्ध थिए।
स्नातक तह अध्ययन गर्न काठमाडौँ छिरेका बेला सोही पार्टीमा आबद्ध हुँदै उनले विभिन्न अभियान चलाए। उनले बन्द रहेका उद्योग कलकारखानाका विषयमा अनुसन्धान गर्ने, बेरोजगारीलाई रोजगार ग्यारेन्टी गर्नुपर्ने, उत्पादनमुखी शिक्षा हुनुपर्नेजस्ता माग राख्दै अभियान चलाएका थिए।
आरएन २०७४ सालको अन्तिमतिर मंगोल नेसनल अर्गनाइजेसनमा प्रवेश गरे। सोही पार्टीमा उनी केन्द्रीय सदस्य हुँदै केन्द्रीय आर्थिक विभाग प्रमुख भए। उनी मंगोलमा सात वर्ष रहे। त्यसपछि उनी श्रम संस्कृतितर्फ लागे।
मधेशबाट प्रतिनिधित्व गर्ने जेनजी नेत्री
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले यसपटक भोजपुर, खोटाङ र उदयपुरमा प्रत्यक्ष चुनाव जित्यो। समानुपातिकमा पनि उक्त पार्टीले चार सिट ल्याएको छ। प्रत्यक्षमा कोशीमै सीमित भए पनि श्रम संस्कृति समानुपातिक हिसाबमा देशभर छरिएको छ।
श्रम संस्कृतिले प्रत्यक्षमा नजितेको क्षेत्र/जिल्लामा समानुपातिक सांसद खोज्ने काम गर्यो। त्यही कारण सुर्खेतकी राधिका रम्तेल दलित कोटामा पर्न सफल भइन् भने धनुषाकी रुबी मधेशी कोटामा पर्न सफल भइन्। हर्कले चाहेको भए मधेश कोटाको सांसद पनि झापा वा मोरङ खोज्न सक्थे तर उनले मधेश प्रदेशबाटै प्रतिनिधित्व गराए।
‘हामीलाई अब्बल नेताको खाँचो थियो। त्यही नेतृत्वलाई ल्यायौँ,’ पार्टीका प्रवक्ता सत्य घले गुरुङ भन्छन्, ‘अन्य सांसदहरू कोही संखुवासभा र झापाबाट हुनुहुन्छ। त्यहाँ पनि माटोले प्रत्यक्ष चुनाव जितेन।’ श्रम संस्कृतिबाट धनुषाकी २५ वर्षीय रुबिना ठाकुर सांसद बनेकी छन्। ‘हामीले जेनजी सांसदका रूपमा उहाँलाई ल्याएका हौँ’, गुरुङ थप्छन्। रुबिनाको संसद् प्रवेशले एकातिर श्रम संस्कृति पूर्वी पहाडी क्षेत्रमा सीमित छ भन्ने भ्रम चिरिएको छ भने समानुपातिक सांसद बन्न ‘पार्टीलाई सहयोग’ गर्नुपर्छ भन्ने मान्यता पनि गलत भएको छ।
रुबिना धनुषाको कमजोर आर्थिक अवस्था भएकी परिवारकी सदस्य हुन्। उनका वुवाआमा पहिला इँटाभट्टामा काम गर्थे। अहिले वुवा वैदेशिक रोजगारीको क्रममा छन्। प्रवक्ता गुरुङका अनुसार रुबिना संस्कृति पार्टीको काम गराइबाट प्रभावित थिइन्। त्यही कारण उनी सदस्य बन्न धरान गएकी थिइन्।

‘हामीलाई खोज्दै उहाँ(धरान) आउनुभएछ। त्यतिबेलै सदस्य बन्नुभएको थियो’, प्रवक्ता गुरुङ भन्छन्। श्रम संस्कृतिका मधेश इन्चार्ज दीपकजंग शाहीका अनुसार मधेशमा श्रम संस्कृतिमा प्रवेश गर्दैगर्दा अधिकांश पुरुष मात्र थिए। त्यसैबेला रुबिनाले सोही पार्टी आबद्ध हुने कुरा गरिन्। दीपकले पनि रुबिनालाई सदस्यता दिलाइहाले। ‘उहाँ मधेशको पहिलो महिला सदस्य हो’, दीपक सम्झन्छन्, ‘पार्टीको काम गराइ र शैली उहाँलाई मन परेछ। त्यसैले आबद्ध हुनुभयो।’
संस्कृति पार्टीले उनलाई समानुपातिक कोटामा राख्यो। ‘हामी सबै क्षेत्र र वर्ग समेटेर अघि बढ्छौँ। त्यही कारण देशको पश्चिमी क्षेत्रका नेताहरू प्रतिनिधिसभामा हुनुहुन्छ’, गुरुङ भन्छन्। गुरुङका अनुसार अबको सदनमा श्रम संस्कृतिले निरन्तर खबरदारी गर्नेछ। ‘सत्तापक्ष ठूलो होला तर हामी हाम्रो पार्टीलाई सशक्त प्रतिपक्षका रूपमा उभ्याउँछौँ। देशको माटो बचाउने गरी काम गर्नेछौँ’, उनी भन्छन्।





