काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्। सभापति लामिछानेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्।
सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरूपमा निकास पाएको भन्दै बधाई ज्ञापन गरे।
उनले भने,‘समयै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्मानीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई दिन चाहन्छु।’
प्रधानमन्त्री कार्कीको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पाएको उनले बताए। उनले भने,‘तपाईँको यो योगदान मुलुकले सधैँ सम्झिनेछ। हामी पनि सम्झिरहनेछौँ। आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौँ।’
प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखिकन काम गर्न सुझाव दिइएकी छन्।
‘अहिले देश रोएको छ। तपाईँ युवाहरूसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्। तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्र्नेछ। चुनौती धेरै छन्, तर सम्हालिएर अघि बढ्नू’ प्रधानमन्त्री कार्कीले भनिन्,‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ। विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ।’
भेटमा दुवै जनाबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको स्पष्ट पारे।
‘सरकार भनेको सरकार नै हो। अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ। यो सरकारले गरेका निर्णमा हाम्रो कुनै आपत्ति छैन,’ उनले भने,‘अझ यो ऐतिहासिक अभिभार पूरा गरेको सरकारप्रति त हाम्रो उच्च सम्मान छ। त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौँ।’
उनले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिए।
पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेको समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलिय पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै उनले यी विषयमा पनि उचित कदम चाल्न प्रधानमन्त्री कार्कीसँग आग्रह गरे।




