पाशुपत पद‌यात्रा महाअभियान : पाँचसूत्रीय संकल्पपत्र घोषणा

हिमाल प्रेस ८ चैत २०८२ १७:०० | Sunday, March 22, 2026
30
SHARES
पाशुपत पद‌यात्रा महाअभियान : पाँचसूत्रीय संकल्पपत्र घोषणा स्वामी रमणानन्द गिरि

काठमाडौँ- पाशुपत क्षेत्रको संरक्षण र संवर्द्धनका लागि राज्य र जनस्तरबाट एकीकृत अभियान चलाउने उद्देश्यले पशुपति-घोषणापत्र जारी गरिएको छ। पवित्र पाशुपत क्षेत्रको आध्यात्मिक गरिमा र पौराणिक स्वरूपलाई अक्षुण्ण राख्ने संकल्पका साथ आयोजना गर्न लागिएको ‘बृहत् पाशुपत पदयात्रा’ को पूर्वसन्ध्यामा महेश संन्यास आश्रमका पीठाधीश एवम् पदयात्राका संकल्पकर्ता श्री १००८ स्वामी रमणानन्द गिरिबाट पाँचबुँदे घोषणापत्र जारी गरिएको हो।

घोषणापत्रमा भगवान् श्रीपशुपतिनाथ र जगज्जननी गुह्यकाली युगल रूपमा विराजित यस क्षेत्रलाई सम्पूर्ण ज्योतिर्लिंगहरूको शिरोभाग तथा आध्यात्मिकताको सर्वोच्चस्थान का रूपमा व्याख्या गरिएको छ।
वैदिक सनातन धर्मावलम्बीका लागि विश्वकै सबैभन्दा पवित्र तीर्थस्थल मानिने यस क्षेत्रको संवेदनशीलतालाई मनन गर्दै घोषणापत्रले यसको प्राचीन वैभव फर्काउन जोड दिएको छ।

बागमती नदीलाई प्रदूषित बनाउने, शिवजीको नित्य रुद्राभिषेकमा बाधा पुर्‍याउने तथा पाशुपत क्षेत्रलाई दलीय र राजनीतिक विवादको सिकार बनाउने गतिविधिहरूले समग्र राष्ट्रमा विद्वेष, हिंसा र असहिष्णुताको वातावरण सिर्जना गरेको भन्दै राष्ट्रदेव शिवप्रति क्षमायाचना गर्ने प्रस्ताव गरिएको छ।

यसैगरी पाशुपतक्षेत्रलाई फोहोरजन्य प्रदूषण र राजनीतिक हस्तक्षेपबाट मुक्त राखी विश्वभरिकै वैदिक तीर्थाटनको केन्द्रविन्दु बनाउने उद्देश्यले राज्यलाई आवश्यक सहयोग र पृष्ठपोषणका लागि खबरदारी दिने व्यवस्था प्रस्ताव गरिएको छ।

शिवको किराँतीरूप ‘किराँतेश्वर’ देखि ‘अवलोकितेश्वर’सम्मको बर्सेनि हुने पूजापाठ परम्परा पाशुपत क्षेत्रमा मात्र रहिआएकाले नेपाललाई विश्वभरका धार्मिक द्वन्द्वरत राष्ट्र र संस्थाहरूबीच आध्यात्मिक समन्वयको नेतृत्व दिने गुरुराष्ट्रको रूपमा स्थापित गर्ने पहल गर्न सुझाव दिइएको छ।

पाशुपत क्षेत्रमा रहेका मन्दिर, देवविग्रहको नित्यपूजा, श्रीयुत शिवको पूजामा शुद्ध पञ्चामृत र जलको प्रयोग, तथा साधुसन्तहरूको निवास व्यवस्थापन सुनिश्चित गर्न सम्बन्धित अधिकार प्राप्त संस्थासँग अन्तरसंवाद र अनुगमन गर्ने प्रस्ताव गरिएको छ।

सिद्धलिंग दर्शनसहितको पूर्ण पाशुपतक्षेत्र परिक्रमा, वाग्मती परिक्रमा र अन्य सिद्ध पीठहरूको दर्शनमार्फत जनमानसमा आस्था वृद्धि गर्ने उद्देश्यले साधुसन्तहरूको अगुवाइमा पदयात्रा, रथयात्रा, महोत्सव लगायत विविध अभियान सञ्चालन गर्ने योजना अघि सारिएको छ।

सो अवसरमा बृहत् पाशुपत पदयात्राका संकल्पकर्ता तथा विमर्श समारोहका सभाध्यक्ष स्वामी रमणानन्द गिरिबाट समस्त ज्योतिर्लिंग र महाज्योतिर्लिंग भगवान् श्रीपशुपतिनाथलाई राष्ट्रदेवका रूपमा पाउनु नेपालीहरूको ठूलो भाग्य भएको धारणा व्यक्त भएको थियो।

बागमती नदीलाई मानवीय गतिविधिबाट प्रदूषित बनाउनु भनेको नेपालीहरूको अक्षम्य अपराध भएको भन्दै यसबाट उत्पन्न शिवापराध क्षमापनाका लागि चैत १६ गतेदेखि पदयात्रा आयोजना गर्न लागिएको छ। पदयात्रामा आदिलिंग कुशेश्वर पूजनसहित ६४ सिद्धलिंगको दर्शन गराइनेछ।

२०५० दशकदेखि वाग्मती प्रदूषित हुँदै आएको छ र त्यसै प्रदूषित जलले पशुपतिको जलाभिषेक गरिएकाले नेपालीमा शिवापराध लागेको स्वामीको भनाइ छ। यसका कारण दरवार हत्याकाण्ड, राजनीतिक खिचातानी, हिंसा, आपसी वैमनस्य, विद्वेष, प्राकृतिक प्रकोप (बाढी, पहिरो, भूकम्प, कोरोना आदि) जस्ता समस्याहरूले राष्ट्रलाई प्रभावित पार्दै आएको अनुभव साधुहरूलाई भएको छ।

उक्त पदयात्रा र ज्योतिर्लिंग दर्शनमार्फत राष्ट्रका सबै संबन्धित धार्मिक संघसंस्था, राज्य निकाय र समस्त नेपालीहरूलाई क्षमायाचना (माफी–प्रार्थना) गर्न आह्वान गरिएको छ।

यी हुन् प्रस्ताव

क्षमायाचना :  बागमतीलाई मलीन (प्रदूषित) बनाई शिवजीलाई नित्य रुद्राभिषेक गर्न नसक्ने बनाउने र पाशुपत क्षेत्रलाई दलीय गुटबन्दीको शिकार बनाउने जस्ता कुकृत्यहरूले गर्दा समग्र राष्ट्र‌लाई शिवापराध लागी राष्ट्रमा परस्पर विद्वेष, हिंसा र असहिष्णुता सँगै राष्ट्र-विप्लवको खतरा बढिरहेकाले यसको क्षमापन‌का लागि सबै मिली राष्ट्र‌देवसँग क्षमायाचना गर्ने।

राज्यलाई खबरदारी : पाशुपतक्षेत्रलाई फोहोरजन्य मानवीय प्रदूषण र राजनैतिक प्रदूषणबाट मुक्त राखी विश्वभरिकै वैदिक तीर्थाटनको केन्द्रविन्दु बनाउन विविध योजना कार्यान्वयन गर्नका लागि राज्यलाई खवरदारी र पृष्ठपोषण प्रदान गर्ने।

आध्यात्मिक समन्वयको सन्देश : शिवको किराँतीरूप किराँतेश्वरदेखि वर्षमा एकपटक अवलोकितेश्वरका रूपमा बुद्धको मुकुट चढाउने प्रचलनसमेत यही पाशुपत क्षेत्रमा मात्र रहेकाले विश्वभरिका धार्मिक द्वन्द्वरत राष्ट्र र सङ्गठनहरुलाई आध्यात्मिक समन्वयको सन्देश दिने गुरुराष्ट्रको रूपमा नेपाललाई नेतृत्व दिलाउन पहल गर्ने।

व्यवस्थाको अनुगमन : पाशुपत क्षेत्रमा स्थापित विविध मन्दिर र देवविग्रहहरूको नित्यपूजा, श्रीयुतशिवको पूजामा शुद्ध पञ्चामृत र जलको प्रयोग एवम् तपस्वी साधुसन्तहरू‌को साधनात्मक निवासको समुचित व्यवस्था गर्न प्रेरणा दिने उद्देश्यले अधिकार प्राप्त संस्थाहरू‌सँग अन्तःसंवाद तथा अनुगमन गर्ने।

अभियान सञ्चालन :  चौसट्ठी सिद्धलिंग दर्शनसहितको पूर्ण पाशुपतक्षेत्र परिक्रमा र वाग्मती परिक्रमा लगायत यस क्षेत्रका सिद्ध पीठहरूको दर्शन-यात्राका साथ जनजन‌मा आस्था वृद्धि गर्ने उद्देश्यले साधुसन्तहरूको अगुवाइमा पद‌यात्रा, रथयात्रा, महोत्सव आदि विविध अभियान सञ्चालन गर्ने।

प्रकाशित: ८ चैत २०८२ १७:०० | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast