काठमाडौँ- शनिबारदेखि जारी पीएम कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन्। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ।
यस्तै सोही समयमा मुलपानी मैदानमा अर्को विभागीय टोली एपीएफले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ। हिजो भएका दुवै खेल वर्षाका कारण प्रभावित भएका थिए। जनकपुरमा उद्घाटन भएको प्रतियोगिताको पहिलो खेल नै वर्षाले अवरुद्ध भएको थियो। टस समेत हुन नपाएपछि कोशी प्रदेश र मधेश प्रदेशले एक–एक अंक बाँडेका थिए।
यता, वीरगन्जमा सुरु भएको खेल पनि वर्षाले प्रभावित भएपछि कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले पनि अंक बाँडेका थिए। आजदेखि वर्षा हुने सम्भावना नरहेकाले सहज रुपमा खेल हुने अनुमान छ।




