काठमाडौँ- नेपाली कांग्रेसले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामाका विषयमा शुक्रबार कुनै निर्णय हुन सकेन। केन्द्रीय कार्यसमितिको बैठकमा बोलेका २४ नेताहरूले राजीनामा अस्वीकार गर्नुपर्ने धारणा राखेका थिए। ‘नेताहरूको बोल्ने क्रम जारी छ। सभापतिको राजीनामाबारे कुनै निर्णय भएको छैन’, केन्द्रीय सदस्य बजरंग नेपालीले भने।
बैठकमा नेताहरुले पार्टी सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। बैठक चलिरहेका बेला सहमहामन्त्री बहादुरसिंह लामाले थापाको राजीनामा स्वीकृत भएको बताएका थिए। नेताहरूले धारणा राखिसकेपछि राजीनामाका बारेका निर्णय हुन सक्ने नेपालीले बताए। उनका अनुसार बैठक आइतबार फेरि बस्नेछ।
शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव गरेका थिए। शर्माको प्रस्तावमा उल्लेख छ, ‘राजनीतिमा ‘हनिमुन पिरियड’ भन्ने गरिन्छ, खासगरी सरकारको नेतृत्व कसैले सम्हालेको शुरुवाती सय दिनलाई। त्यो ‘वार्म अप’ अवधिमा उसको कामको सकारात्मक वा नकारात्मक संकेत बुझ्न सकिन्छ, तर सम्पूर्ण परीक्षण र समग्र समीक्षा गर्न सकिँदैन।’
त्यही कोणबाट समीक्षा गर्दा विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत नहुने र व्यक्तिप्रति न्याय पनि नहुने उनको दाबी छ। ‘प्रतिकूलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय हुँदैन’, शर्माले उल्लेख गरेका छन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ३८ सिटमा खुम्चिएपछि त्यसको जिम्मेवारी लिँदै थापाले बुधबार सभापति पदबाट राजीनामा दिएका थिए।
*शीर्षक र तथ्य सच्चाइएको





