काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूबाट लेबीबापत आगामी पाँच वर्षमा झन्डै साढे १६ करोड रुपैयाँ संकलन गर्ने देखिएको छ। पार्टी निर्णयबमोजिम सांसदले लेबीबापत मासिक १५ हजार रूपैयाँ तिर्नुपर्ने व्यवस्था छ।
प्रतिनिधिसभामा रास्वपाका एक सय ८२ सांसद छन्। ती सांसदबाट प्रतिव्यक्ति १५ हजार रुपैयाँ लेबी उठाउँदा मासिक २७ लाख ३० हजार रुपैयाँ संकलन हुन्छ। त्यसैगरी एक वर्षमा तीन करोड २७ लाख ६० हजार र पाँच वर्षमा १६ करोड ३८ लाख रुपैयाँ संकलन हुनेछ।
अघिल्लो कार्यकाल सुरु हुनेबित्तिकै रास्वपाले प्रतिसांसद मासिक २५ हजार रुपैयाँ लेबीबापत उठाउने गरेको थियो। त्यतिबेला स्वकीय सचिवबाट पनि मासिक दुई हजार पाँच सय रुपैयाँ उठाउने गरिन्थ्यो। लेबी धेरै भयो भनेर छलफल भएपछि त्यसलाई परिमार्जन गरिएको थियो।
परिमार्जित व्यवस्थाअनुसार प्रतिसांसद १५ हजार रूपैयाँ र स्वकीय सचिवबाट १ हजार ५ सय लेबी उठाउने व्यवस्था गरियो। तर स्वकीय सचिवको पनि सांसदहरूले नै तिर्ने गरी १६ हजार ५ सय रूपैयाँ लेबी तोकिएको थियो।
सरकारले असोज ८ गते राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ।
रास्वपाबाट मन्त्री भएका नेताहरूले भने मासिक ३० हजार रुपैयाँ लेबी तिर्नुपर्ने व्यवस्था गरिएको छ।





