काठमाडौँ- हिमचितुवा संरक्षणमा बनेको डकुमेन्ट्री ‘स्नो लियोपार्ड सिस्टर्स’ नेपालमा प्रिमियर गरिएको छ। बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर सोमा नेपालीसहित विदेशी दर्शकसमेतको उल्लेख्य उपस्थिति थियो।
डकुमेन्ट्री सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्चले निर्देशन गरेका हुन्।डकुमेन्ट्रीमा डोल्पाका दुई आदिवासी महिलाबीचको असम्भव तर शक्तिशाली मित्रताको प्रेरणादायी कथा प्रस्तुत गरिएको छ।
डकुमेन्ट्रीले स्थानीय हिमचितुवा संरक्षणकर्मी छिरिङ ल्हामु लामाले १७ वर्षीया तेन्जिन भुटी गुरुङलाई कसरी मार्गदर्शन गर्छिन् भन्ने यात्रा देखाउँछ। उनीहरू दुबै खतरापूर्ण र सुन्दर हिमालयको भू-दृश्य हुँदै दुर्लभ र संकटग्रस्त हिमचितुवाको खोजीमा निस्कन्छन्।
फिल्मले संरक्षण क्षेत्रमा महिला आवाजको शक्ति उजागर गर्दै उनीहरूले रहस्यमय हिमचितुवाहरूको लागि कसरी राम्रो भविष्य निर्माण गर्ने भन्ने सम्भावनालाई देखाएको छ।
साथै डोल्पा जिल्ला क्षेत्रमा संकटग्रस्त हिमचितुवाको संख्या बढाउन र स्थानीय गोठालाहरूले बदला स्वरूप गर्ने हिमचितुवा हत्या पूर्ण रूपमा अन्त्य गर्न प्रत्यक्ष पहललाई प्रेरित गरेको छ।
नेपाली फोटोग्राफर सोनम चोयकीले आफ्नी दिदि छिरिङ ल्हामु लामासँग मिलेर हिमचितुवाको खोज तथा संरक्षणको कामलाई आफ्नो दुर्गम मातृभूमिमा कैद गर्न सुरु गरेकी थिइन्, जुन पछि उनको पहिलो वृत्तचित्रका रूपमा विकसित भयो।
डकुमेन्ट्रीमा विभिन्न अर्न्तराष्ट्रिय फिल्म महोत्सवका विजेता फिल्ममेकरहरू बेन आयर्स र एन्ड्रयू लिन्च पनि जोडिए, जसले तीन महादेशमा फैलिएको सशक्त टोली निर्माण गर्याे।
डकुमेन्ट्रीको कथा बेन आयर्स र एन्ड्रयू लिन्चले लेखेका हुन्। यसलाई इयान डेभिस, टोर्किल जोन्स, जोआना नतासेगारा र छिरिङ ल्हामु लामाले निर्माण गरेका हुन्।
सोनम चोयकी लामा, एन्ड्रयू लिन्च र रश स्टर्जेसले छायांकन गरेको डकुमेन्ट्रीको सम्पादन केटी ब्रायरले गरेका छन्।
डकुमेन्ट्रीको कार्यकारी निर्माता ओस्कार विजेता निर्देशक जोआना नतासेगारा र चर्चित हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो छन्। यो डकुमेन्ट्रीले एक दर्जनबढी अर्न्तराष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार जितिसकेको छ।





