मधेशका समानुपातिक सांसद : प्रथम राष्ट्रपतिका छोरादेखि जेनजीसम्म, शून्य मधेशी दलित

धैर्यकान्त दत्त ४ चैत २०८२ २१:०९ | Wednesday, March 18, 2026
18
SHARES
मधेशका समानुपातिक सांसद : प्रथम राष्ट्रपतिका छोरादेखि जेनजीसम्म, शून्य मधेशी दलित

काठमाडौँ- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आइसकेको छ। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको सूचीसमेत सार्वजनिक गरेपछि प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आएको हो।

आयोगले समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ। कानुनमा तोकिएको क्लस्टरअनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरिने आयोगले जनाएको छ।

आयोगले सोमबार सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी ५७ सांसद निर्वाचित भएका छन्।

यसैगरी नेपाली कांग्रेसबाट २०, नेपकपा एमालेबाट १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएका छन्।
बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने आयोगको तयारी छ।

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको रास्वपाले सरकार गठनका लागि आन्तरिक तयारीसमेत सुरू गरिसकेको छ। आठ वर्षको अवधिमा भएको तेस्रो आम निर्वाचनपछि पहिलोपटक नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार सरकार बन्ने भएको छ।

निर्वाचनपछि नयाँ सरकार गठनको तयारी चलिरहँदा यसअघि जस्तै यसपालि पनि दलहरूको समानुपातिक सूची विवादरहीत रहन सकेन। संविधानमै व्यवस्था भए पनि समावेशी प्रतिनिधित्व, पुराना नेताहरूको आफन्तलगायतका व्यक्तिहरू समानुपातिक प्रणालीबाट निर्वाचित भएर आएपछि असन्तुष्टि देखिएको हो।

समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा दलहरूले प्रतिनिधित्व गराउने विषयमा मधेश प्रदेशबाट व्यापक असन्तुष्टि देखिएको छ। पुराना नेताहरूका छोरा र आफन्तलाई प्रतिनिधित्व गराइएको असन्तुष्टि छँदैछ दलिततर्फ मधेशीको उपस्थिति नगराइएकोमा पनि चर्को विरोध भएको पाइएको छ।

यसका साथै यसपालि मधेश प्रदेशबाट समानुपातिक प्रणालीबाट कैयौँ नयाँ अनुहारहरू पनि प्रतिनिधिसभासम्म पुग्ने मौका पाएका छन्। यसरी प्रतिनिधित्व गर्नेहरूमा जेनजी पुस्ताका युवाहरू समेत देखिएका छन्।

२१ फागुनमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ मधेश प्रदेशको ३२ मध्ये ३० सिट जितेको रास्वपाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत प्राप्त गर्‍यो।

रास्वपाले मधेश प्रदेशबाट सबैभन्दा बढी १३ लाख ४६८ मत प्राप्त गरेको छ। यो रास्वपाले समानुपातिकतर्फ प्राप्त गरेको कुल मतको २५ प्रतिशत हो। कुल ५७ सिट पाएको रास्वपाले मधेश प्रदेशबाट ६ जनालाई समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनाएको छ।

मधेश प्रदेशबाट समानुपातिक प्रणालीतर्फ रास्वपाबाट खगेन्द्र कर्ण (सप्तरी) निर्वाचित भएका छन्। चुनावअघि नेपाली कांग्रेस परित्याग गरेका कर्णलाई रास्वपाले समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएको हो। पेसाले इन्जिनियर भएर पनि राजनीतिमा सक्रिय उनले मधेशमा रास्वपाको संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ। चुनावका क्रममा पनि उनी पार्टीका उम्मेदवारहरूको पक्षमा प्रचार प्रसार गर्न प्रदेशका आठवटै जिल्लाको दौडाहा गरेका थिए।

त्यस्तै रास्वपाको समानुपातिक सूचीमा मधेश प्रदेशबाटै परेका युवा हुन् पुरुषोत्तम शुभप्रभात यादव। सिरहा घर भएका पुरुषोत्तम जेनजी प्रदर्शनबाट उदाएका नेतृत्व हुन्। भदौ महिनामा काठमाडौँमा भएको जेनजी प्रदर्शनका बेला उनी सक्रिय भएर सडकमा उत्रिएका थिए। समानुपातिक प्रणालीबाट निर्वाचित भएका पुरुषोत्तम २७ वर्षकै उमेरमा प्रतिनिधिसभा सदस्य बनेका हुन्।

रास्वपामा समानुपातिक प्रणालीबाट महिलातर्फ चार जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। समानुपातिकबाट महिलातर्फ निर्वाचित हुने सांसदहरू ललित कुमारी (सिरहा), अंकिता ठाकुर (सप्तरी), कामिनी कुमारी (महोत्तरी) र सुनिताकुमारी चौधरी (पर्सा) रहेका छन्।

रास्वपापछि मधेश प्रदेशबाट दोस्रो बढी मत प्राप्त गर्ने दल हो नेपाली कांग्रेस। कुल १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको कांग्रेसले मधेशबाट २ लाख ८७ हजार ३२३ मत मत ल्याएको छ। यो कांग्रेसले समानुपातिकतर्फ प्राप्त गरेको कुल मतको १६.३३ प्रतिशत हो।

समानुपातिकतर्फ कुल २० सिट जितेको कांग्रेसले मधेश प्रदेशबाट तीन जनालाई संसदमा प्रतिनिधित्व गराएको छ। कांग्रेसले मधेश प्रदेशबाट एक पुरुष र दुई महिलालाई प्रतिनिधिसभा पठाएको हो। मधेश प्रदेशबाट कांग्रेसले प्रतिनिधिसभामा पठाएका उम्मेदवारहरूको चर्को आलोचना भएको छ। पार्टीका पुराना नेताहरूका आफन्तलाई समानुपातिक प्रणालीबाट निर्वाचित गर्न लगाएको भन्दै कांग्रेसको आलोचना भएको हो।

मधेश प्रदेशबाट समानुपातिक प्रणालीमा पुरुषतर्फ कांग्रेसका डा.चन्द्रमोहन यादव निर्वाचित भएका छन्। धनुषा सपहीका चन्द्रमोहन प्रथम राष्ट्रपति डा.रामवरण यादवका छोरा हुन्। समानुपातिकतर्फ निर्वाचित भएसँगै उनी दोस्रोपटक प्रतिनिधिसभा पुग्ने भएका हुन्।

२०६४ सालको पहिलो संविधानसभाबाट निर्वाचित भएर रावरण राष्ट्रपति बनेपछि २०६५ चैतमा तत्कालीन धनुषा–५ मा भएको उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका चन्द्रमोहन पराजित भएका थिए। उनलाई एमालेका रघुवीर महासेठले हराएका थिए।

त्यसपछि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा रघुवीरलाई पराजित गरेर चन्द्रमोहन संविधानसभा पुगेका थिए। २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा भिडेका उनी पराजित भए। २०७९ सालको आम निर्वाचनमा समानुपातिक प्रणालीको मधेशी समूहबाट दोस्रो नम्बरमा सिफारिस भएका चन्द्रमोहनले निवदेन दिएर नाम फिर्ता लिएका थिए। अघिल्लो चुनाव नलडेका उनी यसपालि समानुपातिकबाट सांसद बनेका छन्।

मधेश प्रदेशबाट कांग्रेसका दुई जना महिला समानुपातिक सांसदमा निर्वाचित भएका छन्। महिला समूहबाट समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरू हुन् रेखाकुमारी यादव र नीनुकुमारी कर्ण। महोत्तरी घर भएका दुवै जना पहिलोपटक प्रतिनिधिसभा पुग्ने भएका छन्।

रेखा प्रथम राष्ट्रपति रामवरणकी भतिजी हुन् भने नीनु कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिकी भान्जी छिन्। कांग्रेसले मधेशी महिलातर्फ नीनुको पहिलो र रेखाको दोस्रो नम्बरमा नाम सिफारिस गरेको थियो। नीनु विद्यालयमा अध्यनरत रहँदै राजनीतिमा प्रवेश गरेकी थिइन्। नेविसंघबाट राजनीतिमा प्रवेश गरेकी उनी नेपाल महिला संघको केन्द्रीय सदस्य भएकी छन्। कांग्रेस नेताहरूले समानुपातिकतर्फ सिफारिस गरेर आफन्तलाई सांसद बनाउन लगाएको भन्दै चर्को विरोध भएको छ।

मधेश प्रदेशमा समानुपातिकतर्फ तेस्रो मत प्राप्त गरेको नेकपा एमालेले एक महिला र एक पुरुष गरी दुई जनालाई प्रतिनिधिसभा सदस्य बनाएको छ। समानुपातिक प्रणालीतर्फ कुल १४ लाख ५५ हजार ८८५ मत प्राप्त गरेको एमालेले मधेश प्रदेशमा १ लाख ८७ हजार ९०१ मत ल्याएको छ। यो एमालेले समानुपातिकतर्फ प्राप्त गरेको कुल मतको झन्डै १३ प्रतिशत मत हो।

एमालेका तर्फबाट मधेश प्रदेशबाट सिरहाका चन्देश्वर मण्डल र धनुषाकी यशोधा कुमारी निर्वाचित भएका छन्। मण्डल र यशोधा पहिलोपटक प्रतिनिधिसभा पुग्ने भएका हुन्।

सिरहाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरका मण्डल एमालेका पुराना नेता हुन्। २०३८ सालमा एमालेको सदस्यता लिएर राजनीति सुरू गरेका उनले २०७४ मा एमाले सिरहा र २०८० मा एमाले मधेश प्रदेशका अध्यक्ष बने। २०४६ तिर उनले आफ्नै गाउँपालिकाको विद्यालयमा विज्ञान विषय अध्यापन गरेका थिए। त्यस्तै उनले तत्कालीन गौरीपुर गाविस अध्यक्षका रुपमा दुईपटक नेतृत्व सम्हालेका थिए।

समानुपातिकतर्फ १ लाख ७ हजार ६१२ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मधेश प्रदेशबाट एक जनालाई मात्र प्रतिनिधिसभा सदस्य बनाएको छ। नेकपाले माओवादीका पुराना नेता जोगकुमार बरबरिया यादवलाई प्रतिनिधिसभा सदस्य बनाएको हो। धनुषा घर भएका बरबरिया नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन्।

२०६४ सालको पहिलो संविधानसभादेखि निरन्तर चुनाव लडिरहेका बरबरिया पहिलोपटक संसद पुग्ने तयारीमा छन्। धनुषा–२ मा २०६४, २०७० र २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेर पराजित भएका उनी २०७९ सालमा तत्कालीन माओवादी केन्द्रबाट सिफारिस भए। यद्यपि निर्वाचित सूचीमा भने उनी पर्न सकेनन्। जनयुद्धदेखि माओवादीमा सक्रिय बरबरिया समानुपातिक प्रणालीबाट निर्वाचित भएर पहिलोपटक संसद पुग्ने भएका छन्।

त्यस्तै श्रम संस्कृति पार्टीले मधेश प्रदेशबाट धनुषाकी २५ वर्षीया रुबी कुमारीलाई समानुपातिक प्रणालीबाट सांसद बनाएको छ।

इन्जिनियरिङमा डिप्लोमा गरेर स्नताक (बीई) अध्ययन गरिरहेकी रुबी श्रम संस्कृति पार्टीका तर्फबाट सांसद बन्ने जेनजी पुस्ताकी युवा हुन्। आफू प्रतिनिधिसभा सदस्य बन्ने भनेर कल्पनासमेत नगरेको उनले बताएकी छन्। समानुपातिक प्रणालीबाट आफूलाई सांसद बनाएर पार्टी अध्यक्ष हर्क साम्पाङले ‘सरप्राइज’ दिएको रुबीले प्रतिक्रिया दिएकी छन्। जनकपुरधाम–१४ घर भएकी रुबीका बुबा सैलुनमा काम गर्छन् भने आमा ईटा भट्टामा काम गर्ने गरेकी छन्।

असन्तुष्ट मधेशी दलित

समानुपातिक प्रणालीबाट ११० जना निर्वाचित हुँदा पनि दलित क्लस्टरमा मधेशी नपरेको भन्दै मधेशका दलितहरू असन्तुष्ट बनेका छन्। दलित क्लस्टरमा पहाडी समुदायलाई समावेश गरिए पनि दलहरूले मधेशीलाई स्थान नदिएकोमा उनीहरू असन्तुष्ट बनेका हुन्।

समानुपातिक प्रणालीमा विभेद गरेको भन्दै दलित अगुवा, नेता तथा अभियानीहरूले जनकपुधारममा ‘संसदमा मधेशी दलित खोई?’ भन्दै प्रदर्शन गरेका छन्।

मधेशी दलितमाथि समानुपातिक प्रतिनिधित्वमा विभेद गरिएको भन्दै उनीहरूले चरणवद्ध आन्दोलन गर्ने निर्णय भएको पूर्वसांसद तथा दलित अगुवा रामपृत पासवानले बताए। यो समस्यालाई उनले आजको नभइ दशकौँदेखि जरा गाडेको विभेदको संज्ञा दिएका छन्।

संसदमा मधेशी दलितको प्रतितित्व शून्य भएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ। घनश्याम रजकले समानुपातिक प्रणालीको निर्वाचनमा पहाडी मूल र मधेशी मूलका दलितलाई सिट नछुट्याएको भन्दै रिट दायर गरेका हुन्।

सोमबार न्यायाधीश डा.नहकुल सुवेदीको इजलासमा रिटमाथि सुनुवाइसमेत भएको छ। सर्वोच्चले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न निर्वाचन आयोगसहितका विपक्षीलाई आदेश दिएको छ।

प्रकाशित: ४ चैत २०८२ २१:०९ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast