काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले दिएको अभिमतको पूर्णसम्मान गर्दै सकारात्मक परिवर्तनका पक्षमा लाग्न नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन्।
बुधबार ललितपुरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनताले ठूलो आशा र भरोसा गरेर रास्वपालाई खन्याएर मत दिएको भन्दै अभिमतको पूर्णसम्मान गर्दै सकारात्मक परिवर्तनका पक्षमा लाग्न निर्देशन दिए।
उनले नागरिकसँग गरेका करारपत्रलाई राम्रोसँग पालना गर्न सुझावसमेत दिए। सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको उल्लेख गरे।
अर्थतन्त्रलगायत देशका कयौँ गहन विषयमा गरिने हल्का टिप्पणीले रास्वपाप्रतिको आशा निराशामा बदलिनसक्ने भएकाले सचेत रहन उनले आग्रह गरे। सभापति लामिछानेले संसद चलेबाहेकको दिनमा आफ्नो निर्वाचन क्षेत्रमा खटिन र जनताको समस्या बुझ्न निर्देश गरे।
उनले मन्त्री बनाउन र मन्त्री बन्नका लागि मिडिया ट्रायल नगर्न समेत चेतावनी दिए। अहिलेसम्म मन्त्रीका विषयमा पार्टीभित्र कुनै छलफल र निर्णय नभएको उनले बताए।
रास्वपाका समर्थक प्रायः अराजक र असहिष्णु छन् भन्ने टिप्पणी हुने गरेको भन्दै सभापति लामिछानेले सामाजिक सञ्जालमा गाली गलौज गर्ने काम नगर्न समेत निर्देशन दिए। उनले अहिले रास्वपाले नभइ देशले जितको प्रमाणित गर्नुपर्ने भएकाले सुशासनमा नयाँ मानक स्थापनाका साथै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन अहोरात्र काम गर्ने स्पष्ट पारे।





