अफगानिस्तानको काबुलमा शुक्रबार भएको एउटा आक्रमणपछि स्थानीय बासिन्दा र तालिवान प्रहरीहरू घटनास्थलमा क्षेप्यास्त्र वा विस्फोटक वस्तुका अवशेष संकलन गर्दै। तस्बिर : एपी/रासस
काठमाडौँ– अफगानिस्तानको एउटा लागुऔषध उपचार अस्पतालमा सोमबार राति भएको हवाई आक्रमणमा परी सयौँ मानिसको मृत्यु भएको शंका गरिएको छ। तालिवान सरकारले यस आक्रमणको दोष पाकिस्तानमाथि लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसबाट यी दुई छिमेकी मुलुकबीचको विवाद पूर्णकालीन युद्धमा परिणत हुने खतरा बढेको छ। यो घटनाले गत महिनाको अन्त्यतिर सुरु भएको द्वन्द्वलाई नाटकीय रूपमा उत्कर्षमा पुर्याएको छ। यस अवधिमा सीमा क्षेत्रमा पटकपटक झडप हुनुका साथै अफगानिस्तानभित्र हवाई आक्रमण भइरहेका छन्। युद्धविरामका लागि गरिएका अन्तर्राष्ट्रिय आग्रहलाई दुवै पक्षले बेवास्ता गर्दै आएका छन्।
तालिबानका उपप्रवक्ता हम्दुल्लाह फितरतले मंगलबार बिहान एक्स (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानी सेनाले काबुलस्थित दुई हजार शय्याको ओमिद कुलत उपचार अस्पतालमा हवाई आक्रमण गरेको बताएका छन्। यो अस्पताल लागुऔषध प्रयोगकर्ताहरूको उपचारका लागि समर्पित छ।
उनले भनेका छन्, ‘आक्रमणका कारण अस्पतालमा ठूला क्षति पुगेको छ, कैयौँ संरचना ध्वस्त भएका छन् र ठूलो संख्या मानिसको ज्यान गएको छ। मृत्यु हुनेको संख्या चार सय नाघेको छ भने करिब दुई सय ५० जना घाइते भएको विवरण प्राप्त भएको छ।’
अफगान रेड क्रिसेन्टले एक्समा उद्धार टोलीहरूले स्ट्रेचरमा रहेका सिहद र घाइते को उपचार गरिरहेका भिडियो पोस्ट गरेको छ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका प्रमुख रिचर्ड बेनेटले सामाजिक सञ्जालमार्फत अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणबाट सर्वसाधारण मारिएको खबरले आफू मर्माहत भएको बताएका छन्।
पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफका प्रवक्ता मोसर्रफ जैदीले अफगान आरोपहरूको खण्डन गर्दै यसलाई तालिवानको निरन्तरको झुटको अंश भएको बताएका छन्। सूचना मन्त्री अताउल्लाह तरारले भने पाकिस्तानी सशस्त्र बलले काबुलसहितका क्षेत्रमा अफगान तालिवान शासनद्वारा आतंकवादलाई प्रश्रय दिने सैन्य संरचनालाई लक्षित गरी सफल हवाई आक्रमण गरेको दाबी गरेका छन्।
गत वर्षदेखि पाकिस्तान र तालिवानबीचको सम्बन्ध चिसिएपछि सुरु भएको यस द्वन्द्वमा यो अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणमध्ये एक हो। इस्लामाबादले आफ्नो सीमा क्षेत्रमा बढ्दै गएको हिंसात्मक विद्रोहलाई काबुलले सहयोग गरिरहेको दाबी गर्दै आएको छ।




