सांकेतिक तस्बिर।
बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट स्थानीय ३५ वर्षीय सर्वाश बुढाको मृत्यु भएको अस्थायी प्रहरी चौकी मुक्तिकोटका प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीले जानकारी दिए।
उनकाअनुसार महतरा र बुढाबीच पुरानै विवाद थियो। सोमबार साँझ ६ः०० बजेतिर झगडा सुरु भएको र झगडामा कुटाकुट हुँदा महतराका बाबुछोराले ढुंगाले टाउकोमा हान्दा बुढाको घटनास्थलमै मृत्यु भएको हो।
बेलुकी ६ः ३० बजे बुढालाई ढुंगाले हानेर मृत्यु भएको र घटना घटेको एक घण्टापछि अर्थात् ७ः ३० बजे अस्थायी प्रहरी चौकी मुक्तिकोटमा जानकारी प्राप्त भएको प्रहरी सहायक निरीक्षक धामीले बताए।
खबरपछि प्रहरी सहायक निरीक्षकको टोली पुगेर पीडक धनबहादुर महतरालाई नियन्त्रणमा लिएको र उनका छोरा हेमराज भने फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ। रासस





