काठमाडौँ- फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले चैत ५ गतेदेखि काठमाडौँमा २७औँ फ्लोरा एक्स्पोको आयोजना गर्ने भएको छ।
फ्यानले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले चैत ५ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा २७ औँ फ्लोरा एक्स्पोको आयोजना गरिएको जनाएको हो।
‘स्वच्छ वातावरण रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरीय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।
उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ, मौसमी फूल, आलंकारिक बिरुवा, फुल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन) विधामा पुरस्कृत गरिने बताइएको छ।
त्यस्तै मेलामा आलंकारिक बोटबिरुवाहरु, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्रीलगायतको ८३ वटा प्रदर्शनी तथा बिक्री कक्ष रहने फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए।
हाल देशका ५२ जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानले जनाएको छ। भन्सार विभागको तथ्यांकअनुसार पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात कारोबार अघिल्लो आर्थिक वर्षमा २ करोड १३ लाख ६० हजार रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।





